१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

‘इतिहासमा पहिलो पटक कम्युनिष्टको जित’



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु ३ मा पहिलो पटक कम्युनिष्ट पार्टीले संसदीय चुनाव जितेको छ । प्रतिकूल परिस्थितिका बीच पनि नेकपा (एमाले) ले प्रतिनिधि सभा ३ मा चुनाव जितेको हो ।

नेपालमा पहिलो आम निर्वाचन २०१५ मा भएको थियो । त्यो बेला नेपाली कांग्रेसका उम्मेदवार शिवप्रताप शाहले यो क्षेत्रमा जित निकालेका थिए ।

निरंकुश पन्चायतको बर्हिगमन पछि भएको २०४८ सालको आम निर्वाचनमा सद्भावना पार्टीबाट मिर्जा दिलशाद बेगले चुनाव जितेका थिए ।

०५१ को मध्यावधी निर्वाचनमा मिर्जाले राप्रपाबाट चुनाव जिते । बेगको हत्या पश्चात २०५६ मा भएको आम निर्वाचनमा अजय प्रताप शाहले चुनाव जिते । स्वर्गीय भइसकेका शाह अभिषेक प्रताप शाहका बुवा हुन् ।

२०६४ को निर्वाचनमा मधेसी जनअधिकार फोरमबाट अभिषेक प्रताप शाहले चुनाव जिते । शाहले २०७० को दोस्रो संविधान सभा र २०७४ को प्रतिनिधि सभा सदस्यमा चुनाव जिते ।

२०६४ सालको चुनावसम्म कुनै पनि कम्युनिष्ट पार्टी प्रतिस्पर्धामा थिएनन् । २०७० को निर्वाचनमा तत्कालिन क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेदवार नेत्रराज अधिकारी उपविजेता बनेका थिए । चुनाव हारे पनि यहीँ नै कम्युनिष्ट पार्टीको पहिलो सफलता थियो । विगतको क्षेत्र नं. ४ को दुई तिहाई बढी हिस्सा अहिलेको क्षेत्र नं. ३ मा गाभिएको छ ।

२०७४ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा तत्कालिन बाम गठबन्धनबाट इश्वर दयाल मिश्र उम्मेदवार बने । २०६४ को पहिलो संविधान सभाको निर्वाचनमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट क्षेत्र नं. ४ बाट निर्वाचित सभासद् मिश्र कम्युनिष्ट पार्टीबाट चुनाव लड्नु नै कम्युनिष्ट पार्टीका लागि महत्वपूर्ण सफलता थियो । यद्यपि मिश्र तेस्रो स्थानमा आए ।

लामो संघर्ष पश्चात गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा कम्युनिष्टले क्षेत्र नं. ३ मा संसदीय निर्वाचन जित्दै लाल झण्डा फहराउन सफल भएको छ ।

चुनाव जित्ने मंगल प्रसाद गुप्ताको पृष्ठभूमि भने कम्युनिष्टको होइन् । जीवनको उत्तरार्धमा कम्युनिष्ट बनेका गुप्ताले अन्ततः कम्युनिष्टको लाल झण्डा फहराउन सफल भएका हुन् ।

चुनाव जिते पछि संक्षिप्त प्रतिक्रिया दिदैं गुप्ताले जनताको बहुदलिय जनवादको जित भएको बताएका छन् । ‘श्रमजिवी जनताको पक्षमा नेकपा एमाले छ । यो जित एमालेको जित हो’, उनले भनेका छन् ।

एमालेले समाजवादको सिद्धान्तलाई अवलम्बन गरेको पनि उनले बताए । इतिहासमा पहिलो पटक यहाँ कम्युनिष्टले चुनाव मात्र जितेको छैन्, जीवनमा पहिलो पटक स्वंम गुप्ताले चुनाव जितेका छन् ।

चुनाव जिते पछि गुप्ताले भनिरहेका छन्, ‘यो बैचारिक परिवर्तन हो । सैद्धान्तिक परिवर्तन हो ।’

कम्युनिष्टले यो क्षेत्रमा चुनाव जित्दै गर्दा कम्युनिष्ट पार्टीका तीन घटक नेकपा (माओवादी केन्द्र), नेकपा (एस) र राष्ट्रिय जनमोर्चा नेपाली कांग्रेसको साथमा थिए । यी तीन कम्युनिष्ट पार्टीले कांग्रेससंग गठबन्धन गरेका हुन् । तरपनि एमालेले प्रतिकूल परिस्थितिका बीच आफ्नो झण्डा फहराउन सफल भएको हो ।

प्रकाशित मिति : १४ मंसिर २०७९ बुधबार ००:००  ११ : १५ बजे