१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

‘हारमा ह्याट्रिक’, चौथो पटकमा चुनाव जितेका सुधाकर



मायादेवी अनलाइन, बाणगंगा ।
लगातार तीन वटा चुनाव हारेका सुधाकर पाण्डेय अन्ततः प्रदेश सभामा निर्वाचित भएका छन् ।

२०६४ को पहिलो संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका पाण्डेय तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का उम्मेदवार बृजेश कुमार गुप्तासंग पराजित भए ।

पहिलो संविधानसभाले संविधान बनाउन नसके पछि भएको २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा फेरि उनी उम्मेदवार बने । उनै गुप्तासंग पाण्डेय झिनो मतान्तरले पराजित भए ।

पाण्डेयको हार यतिमा मात्र रोकिएन् । २०७४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्यको उम्मेदवार बनेका उनी नेकपा (एमाले) का धर्मबहादुरलाल श्रीवास्तवसंग पराजित भए ।

कांग्रेस कपिलवस्तुको सभापति बनेर काम गरिसकेका पाण्डेय लगातार तीन पटक चुनाव हारे । कानुन व्यवसायी समेत रहेका उनले पार्टीको १४ औं महाधिवेशनमा गुटै परिवर्तन गरे । लामो समय शेर बहादुर देउवा इतर समूहमा सक्रिय पाण्डेय १४ औं महाधिवेशनमा देउवा समूहमा खुलेरै लागे । यही समूहबाट लुम्बिनी प्रदेशको सह-महामन्त्रीमा चुनाव लडेका पाण्डेय पराजित भए ।

बाम–लोकतान्त्रिक गठबन्धनबाट मंसिर ४ को निर्वाचनमा साझा उम्मेदवार बनेका पाण्डेयले निर्वाचनमा शानदार जित निकालेका छन् । उनले निवर्तमान सांसद समेत रहेका लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री धर्मबहादुरलाल श्रीवास्तवलाई हराएका हुन् ।

पाण्डेयले १४ हजार १८५ मत पाउँदा श्रीवास्तवले १३ हजार २९४ मत पाएका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७९ बुधबार ००:००  १ : १३ बजे