१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बिक्रम सिंह थापा आक्रोशित, भन्छन्ः ‘छद्मभेषी ठेकेदारहरुको मुखडा उजागर भयो’



मायादेवी अनलाइन, बाणगंगा ।
मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावमा पराजित भएका विक्रम सिंह थापा आक्रोशित भएका छन् ।

बाम-लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रहेका थापा कपिलवस्तु २ को प्रदेश सभा ‘१’ का उम्मेदवार थिए ।

पार्टी भित्रको अन्तरघातले झिनो मतान्तरबाट चुनाव हारेका थापाले सामाजिक सन्जालमा एक सन्देश लेख्दै पार्टी भित्रका छद्मभेषी ठेकेदारहरुको मुखडा उजागर भएको टिप्पणी गरेका छन् ।

आफूलाई मतदान गर्ने प्रति आभार व्यक्त गरेका थापाले थप अगाडी लेख्छन्,‘ कांग्रेस प्रति गरेको गद्धारी, घिनलाग्दो खेल र द्वैध चरित्र उदाङ्गो भएको छ । आफ्नो निर्वाचन क्षेत्रमा बुथगत वा वडागत बाकसबाट मतगणनाको नयाँ परिपाटीले यो तथ्य देखिएको छ ।’

पहिले देखि चल्दै आएको मतदातालाई प्रलोभनमा पार्ने ठेकेदारी प्रथालाई थप उजागर गरिदिएको र आगामी दिनमा थप सचेत हुने मौका मिलेको उनले बताएका छन् ।

चुनाव हारे पनि छोटो समयमा कपिलवस्तुवासीको मन जित्न आफू सफल भएको पनि उनले उल्लेख गरेका छन् ।

‘आगामी दिनमा थप रणनीतिका साथ अघि बढ्ने र कपिलवस्तुवासीको यस्तै माया, प्रेम, सद्भाव र स्नेह प्राप्त भैरहने अपेक्षा राखेछु,’ उनले भनेका छन् ।

नेपाल प्रहरीका पूर्व एसएसपी रहेका थापा नेकपा एमालेका उम्मेदवार नवराज लामिछानेसंग पराजित भएका हुन् ।

लामिछानेले २१ हजार १३६ मत पाउँदा थापाले २० हजार ६१४ मत पाएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा २ मा कांग्रेस उम्मेदवार विजयी भएका छन् । थापा मात्र यस क्षेत्रबाट पराजित भएका हुन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९ बिहिबार ००:००  ११ : ५७ बजे