१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

चुनावी मतगणनाबाट सन्तुष्ट छैनन् रवीदत्त मिश्रा, न्यायको लागि अदालत पुगे



मायादेवी अनलाइन, बाणगंगा ।
६ मतान्तरले प्रदेश सभा सदस्यमा पराजित भएका रवीदत्त मिश्रा सर्वोच्च अदालत पुगेका छन् ।

कपिलवस्तु ३ को प्रदेश सभा ‘१’ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट चुनाव लडेका मिश्रा नेकपा एमालेका उम्मेदवार अर्जुन केसीसंग ६ मतान्तरले पराजित भएका छन् ।

मतगणना गर्ने क्रममा यो निर्वाचन क्षेत्रमा विवाद भएको थियो ।

जारी विवादका बीच मतगणना सकिए पनि मिश्रा सन्तृष्ट छैनन् । उनले यो निर्वाचनको मतगणनामा धाधली भएको भन्दै मतपरिणामलाई अस्विकार गरेका छन् ।

मतगणनामा एमालेको प्रलोभनमा परेर आफूलाई मतगणनाका कर्मचारीले चुनाव हराएको उनको आरोप छ ।

उनले पुनः मतगणनाको माग राखेका छन् । पुनः मत गणना गर्न निर्वाचन अधिकृतको कार्यालयले नमाने पछि सर्वोच्च अदालतमा मुद्धा हाल्ने तयारी गरिरहेको उनले मायादेवीलाई जानकारी दिएका छन् ।

मतगणनाबारे उनी भन्छन्, ‘निर्वाचनमा ४२ हजार १०२ मत खसेको थियो । तर मतपेटिकामा ४ सय ५७ मत गायव भए । हामीले विरोध गर्‍यौ । पछि निर्वाचन अधिकृतको कार्यालयले १ सय ६४ मत मात्र नभेटिएको बताए पछि हामी ‘कन्भिन्स’ भयौं । ती हराएका मत समानुपातिक तर्फको मत पेटिकामा हुन्छन् भनेर हामीलाई कार्यालयले भन्यो, हामीले स्विकार गर्‍यौ । तर, समानुपातिक तर्फको मतपेटिकामा जम्मा ३३ मत भेटिए । अरु मत एकाएक कसरी गायव भए ? यहाँ चलखेल भएको छ ।’

पुनः मतगणना हुनुपर्छ भन्दा निर्वाचन अधिकृतको कार्यालयले नसुने झै गरे पछि मुद्धा हाल्न सर्वोच्च अदालत पुगेको छु,’ उनले भने ।

अदालतको फैसलाबाट पुनः मतगणना हुनेमा उनी आशावादी छन् ।

निर्वाचन अधिकृतको कार्यालयले एमाले उम्मेदवार केसीलाई विजयी भएको घोषणा गरेको छ । कार्यालयका अनुसार केसीले ११ हजार ७४३ मत पाएका छन् भने मिश्राले ११ हजार ७३७* मत पाएका छन् ।

भूलसुधार : यसै समाचारको अन्तिम अनुच्छेदमा केसी र मिश्राको मतपरिणाम**तलमाथि भएकाले सच्याएका छौँ। -सम्पादक

प्रकाशित मिति : १५ मंसिर २०७९ बिहिबार ००:००  १२ : २५ बजे