१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नन्दनगर महायज्ञः भक्तजनको भीँड, दान गर्न अन्तिम दिन बाँकी



मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको बाणगंगामा जारी महायज्ञ सकिन अब एक दिन मात्र बाँकी छ । मंसिर ११ गतेदेखि वाणगंगा २ नन्दनगरस्थित कैलाश आश्रम धाममा सुरु भएको श्रीमद्भागवतमहापुराण कथा प्रवचन, श्री वराहपुराण अनुष्ठान तथा २८ औँ धनधान्याचल ज्ञान महायज्ञ सोमबार सकिन लागेको हो ।

गुरुकुलम संचालको लागि आयोजना भएको महायज्ञमा आइतबारसम्म हजारौँ भक्तजनले दर्शन गरेका छन् भने दान गर्नेहरुको पनि उत्तिकै भीँड लाग्ने गरेको मूल समिति संयोजक देवीप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

हरेक बर्ष आयोजना हुने महायज्ञ यसपटक फरक स्थान र फरक तयारीका साथ गरिएकाले पनि दर्शनार्थीको भीँड लाग्ने गरेको उहाँले बताउनु भयो । महायज्ञमा प्रमुख वाचकमा पण्डित दीपक सापकोटा रहनु भएको छ । उहाँले हरेक दिन संगितमय कथा वाचन गरिरहनु भएको छ । उहाँको कथा वाचनलाई धेरै भक्तजनले मन पराएका पनि संयोजक पाण्डेले बताउनु भयो ।
महायज्ञमा भइरहेको सन्ध्या महा–आरतीमा यसपटक भक्तजनको थामिनसक्नु भीँड छ ।

कैलाश आश्रमका संरक्षक ब्रहम्निष्ट सन्त शिरोमणी १००५ स्वामी लोकानन्द महाराजको सानिध्यतामा हरेक साँझ हुने महाआरतीमा संकल्प गर्ने र दर्शन गर्नेको भीँड लाग्ने गर्दछ भने राष्ट्रिय कलाकारबाट संगितमय भजन प्रस्तुति पनि हुन्छ ।

यस्तो महाआरती यस क्षेत्रमै पहिलोपटक भएकाले भक्तजनले मन पराएका कैलाश गुरुकुलम्का शिक्षक तथा कार्यक्रम संचालक युवराज बेलबासेले बताउनु भयो । सोमबारसम्म महायज्ञ चल्ने भएकाले दान गर्न इच्छुकहरुको लागि अन्त्मि समय बाँकी रहेको उहाँले बताउनु भयो । लुम्बिनी प्रदेशमा सबैभन्दा ढिलो संचालनमा आई सबैभन्दा बढी बटुकहरुलाई अध्यापन गराउन सफल गुरुकुलम्मा अहिले १ सय बढी विद्यार्थी पढ्ने गरेका छन् ।

विश्व विद्यालयसम्मको परिकल्पनाका साथ अघि बढिरहेको गुरुकुलममा अहिले कक्षा ११ पनि संचालन भइरहेको छ । जहाँ संस्कृत शिक्षा पनि पढाई हुन्छ । अहिले एक दिनमा जम्माजम्मी १ सय २० भन्दा बढीको लागि दैनिक भण्डारा संचालन गर्नु पर्ने स्थिति छ । त्यसको लागि दैनिक १५ हजारभन्दा बढी खर्च आउँछ, गुरुकुलम्का प्रधानाध्यापक कृष्ण प्रसाद पोख्रेल भन्नुहुन्छ ‘त्यही खर्च जुटाउनको लागि हरेक बर्ष महायज्ञ संचालन भइरहेको छ । यज्ञमा भक्तजनले अर्थ, धान, चामल चढाउनु हुन्छ । त्यहीबाट अहिले गुरुकुलको खर्च चलिरहेको छ ।’

स्थानीय ब्यक्तिहरु, बिभिन्न सरकरको पनि सहयोग रहेको अवस्थामा चाँडै गुरुकुलम्लाई नेपालकै नमुना गुरुकुलम् बनाउन सकिने संरक्षक लोकानन्द स्वामीले मायादेवी अनलाइनलाई बताउनु भयो ।

प्रकाशित मिति : १८ मंसिर २०७९ आइतबार ००:००  ५ : ३४ बजे