१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

दुर्घटनामा गम्भीर घाइते भएका शिवराजका सन्तोषको आर्थिक अभावले उपचारमा समस्या



कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिका ७ जुमिलीका सन्तोष चौधरी अहिले मेडिसिटी अस्पतालको बेडमा उपचार गराउन नसक्ने अवस्थामा छटपटाइरहेका छन् । ट्याक्टर दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको अहिले आर्थिक अभावको कारण उपचार गर्न नसक्ने अवस्थामा पुगेको उनका दाजु आलोक चौधरीले जानकारी दिए ।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका ८ बहादुरगञ्जमा मंसिर ६ गते ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा चौधरी घाइते भएका थिए । पूर्व पश्चिम राजमार्ग जोडिने कृष्णनगर चन्द्रौटा सडकको बहादुरगञ्ज प्रहरी चेक प्वाइन्ट नजिकै विपरीत दिशाबाट आउँदै गरेको लु ४ त३२६ नम्बरको ट्रयाक्टरले लु ३९ प ६४३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

जसबाट मोटरसाइकलमा सवार शिवराज नगरपालिका ७ जुमिलीका सन्तोष चौधरी र शिवराज नगरपालिका वडा नम्बर ८ बस्ने जगदीश कोरी घाइते भएका थिए, उनीहरुको उपचार मेडिसिटी उपचार भइरहेको छ । जसमध्ये सन्तोषको अवस्था गम्भीर रहेको छ ।

चौधरीको टाउको, घाँटी, अनुहार र खुट्टामा गम्भीर चोट भएकोले हाल सम्म करिब १५ लाख रुपैयाँ खर्च भइसकेको दाजु आलोकले बताए । उनका अनुसार पूर्ण रुपमा ठीक हुन ४० लाख रुपैयाँसम्म खर्च लाग्ने देखिन्छ । ‘हामीसँग भएको पैसा सकिसकेको छ । पैसा नहुँदा अस्पतालले उपचार गर्ने कुरा पनि भएन । प्रहरीले दुर्घटनापछि सम्पूर्ण उपचार ट्याक्टर धनीले गर्छ भनेर पठाएको थियोृ ७५ हजार रुपैयाँ भन्दा दिएको छैन । अब ऋण खोज्ने ठाउँ पनि सकिसकेको छ । भाइलाई उपचार गराउन नसकेर तनाव भइसक्यो । सवारी धनीले चासो नै दिएको छैन,’ चौधरीले भने ।

प्रकाशित मिति : १९ मंसिर २०७९ सोमबार ००:००  २ : ३४ बजे