१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बैरियाका मृगौला पीडित संजीपको उपचारमा सहयोगको याचना



मायादेवी अनलाइन, वाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १ बैरिया बस्ने संजिप दर्जीको आर्थिक अभावका कारण उपचारमा समस्या परेको छ । दलित परिवारका ३७ बर्षिय संजिप दर्जीको दुवै मृगौलाले काम गर्न छाडेपछि उपचारमा संकट परेको परिवारले जनाएको छ ।

आर्थिक अवस्था निकै कमजोर रहेको दर्जी परिवारले उपचारमा सहयोगको लागि याचना गरेको छ । हप्तामा २ पटक मृगौलाको डायलासिस गर्न समेत रकम अभावका कारण अस्पताल जान नसकेपछि औषधी उपचारका लागि सवैसंग सहयोगको याचना गरेका छन् । उनका बुवाको मृत्यु पश्चात आमाको समेत स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि एकाएक संजीप दर्जीको स्वास्थ्यमा समस्या आएपछि परिवारलाई थप संकट आइपरेको हो । घरका सवै विरामी छन्, म पनि त्यसैमा मृगौलाको समस्याले थलिएको छु, औषधी उपचार गराउन दुई चार रुपैया पनि छैन, मृगौला पीडित संजिप दर्जीले भने ।

घरमा दाजु, आमा संगै बस्दै आएका संजीप ५।६ महिनादेखि विरामी परेका हुन् । चारनम्बर स्थित मेडिकलमा औषधी उपचार गराएका उनले थप उपचारको लागि बुटवल रिफर गरेपछि मृगौलाको समस्या देखिएको थियो । आर्थिक अभावका कारण समयमै उपचार गराउन नसकेको छिमेकी कृष्ण बहादुर खड्काले बताए । घरका सवै विरामी भई घरखर्च चलाउन समेत धौ धौ परेका बेला मृगौला उपचारको लागि कुनै रकम नभएपछि विभिन्न निकायमा सहयोगको लागि याचना गरेको छिमेकी खड्काले मायादेवी अनलाइनलाई बताए । घरका सवै सदस्य विरामी भई थला परेपछि दर्जी परिवार विचल्लीमा परेको छ ।

छोराको स्वास्थ्य समस्या जटिल बन्दै गएपछि सहयोग गरिदिनुहुन आमा मनकली दर्जीले अनुरोध गरेकी छन् । ‘ऋण धन गरेर अली अली भएको पैसा उपचारमै सकियो, अवस्था अहिले झन जटिल बन्दै गएको छ, राम्रो ठाउँमा उपचार गर्न पैसा छैन’, आमा मनकलीले निराश हुंदै दुःखेसो पोखिन् । काम गर्न पनि सकिदैन घर चलाउन निकै गाह्रो भएको छ’, उनले भनिन् ।
आर्थिक अभाव भएपछि उपचारको लागि सहयोग गर्न ईच्छुक व्यक्ति वा संघ संस्थाले ग्लोबल आइएमई बैंक पिपरा शाखामा रहेको खाता नम्बर २३१०७०१०००२१८१ संजीप दर्जीको नाममा रहेको खातामा रकम पठाईदिनुहुन परिवारले आग्रह गरेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९ मंगलबार ००:००  १ : ४३ बजे