१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अर्थतन्त्र संकटमा छ भन्ने अभिव्यक्ति नदिनुस् : अर्थमन्त्री शर्मा



काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायी सडक आन्दोलनमा नभइ उद्योग व्यवसायमा लाग्नुपर्ने बताउनुभएको छ। 

बिहीबार काठमाडौंमा भएको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीका समस्या समाधानको लागि सरकार गम्भीर रहको भन्दै उद्योगी व्यवसायी सडक आन्दोलनमा नभइ उद्योग व्यवसायमा लागेर उत्पादन बढाउनुपर्ने बताउनुभएको हो। 

उहाँले सरकारले तरलता तथा बैंक ब्याजदर वृद्धि लगायतले उद्योग व्यवसायीका समस्या समाधानको लागि निजी क्षेत्र, राष्ट्र बैंक, वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सहितको कार्यदल दिएको सुझावका आधारमा काम भइरहेको बताउनुभयो। 

उहाँले मन्त्रिपरिषद्मा सरकारको निजी क्षेत्रका समस्या समाधान गर्न हस्तक्षप गर्नुपर्ने माग राखेको बताउनुभयो। मन्त्री शर्माले उद्योगी व्यवसायीले सडक रोज्नु नहुने भन्दै सरकारले कुनै पनि व्यवसायी सडकमा आउनुपर्ने वातावरण नबनाउने बताउनुभयो। 

उहाँले सरकार व्यवसायीका समस्या समाधान गर्ने नीति निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुँदाहुँदै व्यवसायीले सडक रोज्न नहुने बताउनुभयो। 

मन्त्री शर्माले व्यवसाय नै छोडेर सडकमा आन्दोलन गर्ने व्यवसायीको काम नभएको बताउनुभयो। उहाँले बैंकको ब्याजदर वृद्धि, चालु पुँजी कर्जा निर्देशिकाको सन्दर्भमा सरकारले गम्भीरतापूर्वक छलफल गरिरहेको बताउनुभयो। उहाँले सरकार निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै बलियो अर्थतन्त्र बनाउन आवश्यक रहेको बताउनुभयो।  उहाँले व्यवसायीले निजी क्षेत्र निराश छन्, अर्थतन्त्र संकटमा छ जस्ता अभिव्यक्ति नदिन आग्रह गर्नुभयो। 

प्रकाशित मिति : २२ मंसिर २०७९ बिहिबार ००:००  ४ : २९ बजे