१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

संरचना नबन्दै राजधानी सार्ने निर्णय त्रुटिपूर्ण छ : पौडेल



बुटवल ।

पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट प्रदेशका मन्त्रालय लगायत संरचनाहरु पुर्वाधार नबन्दै रातारात दाङमा लैजाने काम गलत भएको टिप्पणी गरेका छन् । प्रदेशको राजधानीबारे निर्णय गर्ने अधिकार प्रदेश सभाको भएपनि अहिलेको सरकारले विधि प्रकृया मिचेर हतारमा मन्त्रालय सार्ने निर्णय गलत भएको बताए । बुटवलमा शुक्रबार विहान सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पौडेलले संरचना नबन्दै मन्त्रालय सार्ने गलत निर्णय भएको बताए ।

‘गलत निर्णयले गलत परिणाम निस्कन्छ, हेर्दै जानुहोला अब के हुन्छ ।’–उपौडेलले भने संरचना नबन्दै तत्काल मन्त्रालय सार्ने काम गलत र त्रुटीपूर्ण छ । रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पौडेलले आफ्नो पार्टीले जनादेशको सम्मान गर्ने भएकाले यसपटक प्रतिपक्षमा बस्ने बताएका छन् । चुनावको जनादेशले एमालेलाई वहुमत नदिएकाले प्रतिपक्षमा बस्ने बताए ।

कम्तीमा वहुमत र ठूलो पार्टी बन्छौं भन्ने एमालेको अपेक्षा पूरा नभएको बताउँदै उनले कर्नरमा पार्न सत्तामा रहेका दलहरुले गठबन्धन गरेकाले केही सिट कम आएर दोस्रो बन्न पुगेको उल्लेख गरे । माओवादी केन्द्र र अन्य दलसँग मिलेर सरकार गठनको प्रयास भइरहेकोबारे पत्रकारको प्रश्नमा नेता पौडेलले सरकार बनाउनेबारे एमालेले कसैसँग छलफल नगरेको दोहो¥याए ।

पुर्व अर्थमन्त्री समेत रहेका नेता पौडेलले एमाले प्रतिपक्षमा रहेपनि आफ्नो सरकारको पालामा अघि बढाइएका विकास आयोजननाहरु पूरा गर्न सक्रिय भूमिका खेल्ने बताए । उनले रुपन्देहीलाई पुर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र दक्ष जनशक्तिका हिसाबले मुलुककै अग्रणी र रोलमोडल जिल्ला बनाउने आफ्नो अभियानमा कमी आउन नदिने समेत बताए ।

प्रकाशित मिति : २३ मंसिर २०७९ शुक्रबार ००:००  २ : ५६ बजे