१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

गिरीधारीलाल न्यौपाने एमालेबाट लुम्बिनी प्रदेशको सांसद



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एमाले) ले कपिलवस्तुका गिरीधारीलाल न्यौपानेलाई लुम्बिनी प्रदेश सभाको समानुपातिक सांसदमा सिफारिस गरेको छ ।

एमालेले लुम्बिनी प्रदेश सभामा ११ जना समानुपातिक सांसद पाएको छ । १० जना महिला अनिवार्य हुनुपर्ने छ । एक जना पुरुष हुनुपर्नेमा न्यौपाने योग्य ठहरिएका हुन् । उनी समानुपातिक तर्फको बन्द सूचीमा खस आर्यबाट एक नम्बरमा थिए ।

पार्टीका पोलिटव्यूरो सदस्य समेत रहेका न्यौपाने तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आएको विभाजन पश्चात एमाले बनेका हुन् ।

लामो समय नेकपा (मसाल) मा राजनीति गरेका न्यौपाने नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए । ०७४ को निर्वाचन पछि ०७५ मा भएको एमाले र माओवादी केन्द्र बीचको एकतामा न्यौपाने पार्टीको केन्द्रीय सदस्य थिए ।

न्यौपाने ०७४ को निर्वाचनमा तत्कालिन माओवादी केन्द्रबाट प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार बनेका थिए ।

तत्कालिन नेकपाका प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ पुस ५ गते संसद विघटन गरे पछि न्यौपाने त्यसका विरुद्धमा सडक संघर्षमा थिए ।

पार्टीमा दुई लाइन संघर्ष चर्चिएको थियो । प्रचण्ड-माधवकुमार नेपाल समूहका नेताहरु संसद विघटनको विरुद्ध सडकमा थिए भने ओली समूह त्यसको समर्थनमा थियो । प्रचण्ड-माधव समूहले गरेको सडक संघर्षमा रहेका न्यौपाने एकाएक मोडिएर ओली समूहमा पुगेका थिए ।

०७७ फाल्गुण २३ गते सर्वोच्च अदालतले एमाले-माओवादी केन्द्र बीचको एकता विघटन भएको घोषणा गरी ०७५ जेष्ठ २ को अवस्थामा फर्कन भनेको थियो । तर न्यौपानेले माओवादी केन्द्र रोजेनन् । उनी एमालेमै बस्ने निधो गरे । पछिल्लो समस्य एमाले राजनीतिमा सक्रिय न्यौपाने अन्ततः एमालेबाट लुम्बिनी प्रदेशको समानुपातिक सांसद बन्ने भएका हुन् ।

न्यौपानेको नाम एमालेले समानुपातिक सांसदका लागि निर्वाचन अयोगमा पठाएको छ । आयोगले केही दिन भित्र दलहरुले पठाएका समानुपातिक सूचीको नाम अध्ययन गरी यो निर्वाचन प्रणालीमा निर्वाचित भएको घोषणा गर्ने छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९ आइतबार ००:००  ८ : २४ बजे