१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सरकारले निजी क्षेत्रलाई छुट्टै बुझ्छ भन्ने सोचबाट मुक्त हुनु : अर्थमन्त्री शर्मा  



काठमाण्डौ ।

अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रले सरकारले आफूलाई छुट्टै बुझ्छ भन्ने सोचबाट मुक्त हुनुपर्ने बताउनुभएको छ । 

आज बुधवार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले सरकार र निजी क्षेत्र एकअर्काका परिपूरक भएकाले सरकारले निजी क्षेत्रलाई छुट्टै बुझ्ने नगरेको स्पष्ट पार्नुभयो । निजी क्षेत्रलाई सरकारले आर्थिक विकासको महत्त्वपूर्ण पाटोको रूपमा सोचेको उहाँको भनाइ थियो । 

उहाँले भन्नुभयो, ‘निजी क्षेत्रले सरकारले हामीलाई छुट्टै बुझ्छन् भन्ने सोच्नुभएको छ भने त्यसो होइन । त्यो बुझाइबाट अन्त्य हुन म आग्रह गर्छु । हामीलाई अलग्गै हेर्नुपर्छ भन्न खोजेको हो भने छुट्टै कुरा हो । नत्र निजी क्षेत्रलाई सरकारले आर्थिक विकासको महत्त्वपूर्ण पाटो भन्ने सोचेको छ । हामीले फरक बुझेकै छैन ।’

अर्थमन्त्री शर्माले नीतिमा नै सरकार र निजी क्षेत्रबीचको सम्बन्धका बारेमा उल्लेख गरिएको भन्दै समस्यामा समाधानका लागि छलफल गर्न सरकार तयार रहेको बताउनुभयो । समयअनुसारको नीति निर्माण गर्दै जान र नीति निर्माणमा लचकता अपनाउन सरकार तयार रहेको उहाँले आश्वासन दिनुभयो । 

कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले अर्थतन्त्रमा आउने समस्या र चुनौती आन्तरिकमात्र नभएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय प्रभावका कारण पनि अर्थतन्त्रमा सङ्कुचन भएको बताउनुभयो । उहाँले उत्पादनलाई अझ बढी विस्तार गरी निर्यातमुखी अर्थतन्त्रमा देशलाई लैजानुपर्नेमा जोड दिनुभयो । 

मन्त्री शर्माले निर्यात गर्ने सबै वस्तुको उत्पादनमा प्राथमिकता दिन जरुरी रहेको पनि बताउनुभयो । उहाँले नीति निर्माण राम्रा भए पनि नीतिलाई परिणाममा लैजान कार्यान्वयन क्षमता नै आजको मुख्य आवश्यकता रहेको उल्लेख गर्नुभयो । नेपालको आर्थिक अवस्थालाई हेरेर उत्पादनमुखी अर्थतन्त्रमा जोड दिइरहेको उहाँको भनाइ थियो । 

मन्त्री शर्माले निर्यात गर्नसक्ने वस्तुहरूको प्राथमिकीकरण गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । सरकारी संरचनालाई गतिशील, पारदर्शी र क्षमतायुक्त बनाउन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : २८ मंसिर २०७९ बुधबार ००:००  २ : ०३ बजे