१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

भारतीय ओभरलोडको मारमा परेको भन्दै ट्रक व्यवसायी आन्दोलनमा



भैरहवा ।

भारतीय ओभरलोड गाडीका कारण आफ्नो पेशा संकटमा परेको भन्दै नेपाली ट्रक ब्यवसायीहरुले आन्दोलन चर्काउने चेतावनी दिएका छन् । पटक पटकको अनुरोध सरकारले नसुन्ने भए पछि अब भन्सार नाका नै ठप्प पार्ने व्यवसायीहरुले चेतावनी दिएका छन् । नेपाल ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेशले शुक्रबार भैरहवामा बिरोध सभा गरि आन्दोलनको चेतावनी दिएको छ ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति, लुम्बिनी ट्रक यातायात व्यवसायी संघ, बाणगंगा यातायात व्यवसायी समिति, राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी संघ, लुम्बिनी साना तथा मझौला व्यवसायी समिति र ढुवानी व्यवसायी समितिले संयुक्त रुपमा भैरहवा भन्सार कार्यालय अगाडी बिरोध सभा गरेका छन् । भारतीय ओभरलोडका कारण नेपाल तर्फ सडक, पुल लगायतका भौतिक संरचनाको क्षति मात्र नभई आफ्नो पेशा नै संकटमा पर्न थाले पछि उनीहरुले आन्दोलनको विकल्प नरहेको बताएका छन् । नेपाल सरकारले भारतीय ओभरलोड गाडीहरु ब्यवस्थापन गर्नुपर्ने र यसो नगरे एक मुठी पनि भारतीय ओभरलोड रहेका समान नेपाल छिर्न नदिने चेतावनी दिएका छन् ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले अहिले नेपाल सरकारले मालवाहक सवारीका लागी भाडादर तोके पनि ओभरलोडकै कारण नेपाली ट्रक ब्यवसायीले न्यूनतम भाडादर पनि नपाउने समस्या रहेको जिकिर गरे । भारतीय ट्रक तुलनात्मक रुपमा सस्तो रहेको, ओभरलोड बोकेको कारण नेपाली ट्रकहरु भारतीयको प्रतिष्प्रर्धा गर्न नसकेको उनको भनाई छ । बिभिन्न तहमा रहेको सरकारी अधिकारीहरुको सेटिङमा ओभरलोड गाडीहरु निर्वाध रुपमा नेपाल भित्रिरहेको पोखरेलको आरोप छ । बेलहिया नाका हुँदै प्रवेश गर्ने भारतीय गाडीको ओभरलोडलाई छुट दिदा ट्रक व्यवसायीहरु मर्कामा परेको बताउदै ब्यवसायीले सीमा नाकामै समय समयमा भारतीय ट्रक रोक्ने गरेका छन् ।

देश भित्रै ढुवानी गर्ने नेपाली नम्बर प्लेटका ट्रकलाई ओभरलोडमा कडाई गरेको प्रहरीले भारतबाट आउने भारतीय गाडीमा ओभरलोड छुट दिने गरेको छ । कानुन सबैलाई समान हुनुपर्ने भन्दै ओभरलोड नियन्त्रण गर्न व्यवसायीहरुले माग राख्दै आए पनि अहिलेसम्म यसको सुनुवाई हुन सकेको छैन । ट्रक व्यवसायीहरुले नेपालको २ प्रमुख नाका बिरगंज र भैरहवा नाकालाई लक्षित गरि ओभरलोड नियन्त्रण गर्ने राणनिति अगाडी बढाउने बताएका छन् । नेपाल ट्रक यातायात व्यवसायीमहासंघका लुम्बिनी प्रदेशका अध्यक्ष यमप्रसाद पाण्डेले भारतबाट आउने ठूला प्रक्रृतिका समानलाई केही नगरे पनि पल्टि गरेर नेपाली ट्रकले बोक्न मिल्ने सामाग्रीको हकमा ओभरलोड नियन्त्रण गरिनु पर्ने बताए ।

मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धि निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुन अनुसार क्षमता भन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउने व्यवस्था छ । निर्देशिकाको बुँदा नम्बर १० मा पनि “तोकिएको भारवाहन क्षमता भन्दा बढी भार बोकी आएका मालवाहक सवारी साधनले प्रचलित कानून अनुसारको जरिवाना गर्नुको साथै बढी भएको समान झारी सवारी धनिले नै त्यस्तो समानको भण्डारणको ब्यवस्था मिलाउनु पर्ने” भनि उल्लेख गरेको छ ।

यातायात सम्बन्धी प्रचलित कानुन अनुसार ६ चक्के ट्रकले ९ दशमलव ६ टन, १० चक्के ट्रकले १६ दशमलव २ टन, १२ चक्के ट्रकले २१ टन र १४ चक्के ट्रकले २५ टन भन्दा र १८ चक्केले ३० टन भन्दा बढी भार बोक्न पाउदैनन् । नेपालमा ३० टन भन्दा बढी भार बोक्नै पाईदैन । नेपालका सडक र पुलको क्षमता अनुसार यो मापदण्ड निर्धारण गरिए पनि मालबाहक यस्ता सवारी साधनले आफ्नो क्षमता भन्दा दोब्बर बढी भार बोक्ने गरेका छन् । ९६ टन सम्म भारवाहन गरेका मालवाहक गाडीहरु नेपाल भित्रिरहदा ट्राफिक प्रहरीले १ हजार ५ सय जरिवाना लिएर नेपाल भरि प्रवेशको स्विकृति दिएको हुन्छ ।

प्रकाशित मिति : १ पुस २०७९ शुक्रबार ००:००  ४ : ३५ बजे