१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

शुद्धोधन गाउँपालिका वडा नम्बर १ बालविवाह तथा छुवाछुत मुक्त घोषणा



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ लाई बालविवाह तथा छुवाछुत मुक्त घोषणा गरिएको छ । शनिबार एक समारोहबीच जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख, शुद्धोधन गाउँपालिकाका अध्यक्ष, निवर्तमान गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य लगाएतका जनप्रतिनिधीले संयुक्त रुपमा हस्ताक्षर गर्दै शुद्धोधन गाउँपालिकाको वडा नम्बर १ लाई बालविवाह तथा छुवाछुत मुक्त घोषणा गरेका हुन् ।

जनप्रतिनिधी तथा सरोकारवाला निकायले बालविवाह र छुवाछुत सामाजिक तथा कानुनी अपराध भएकाले यसको अन्त्य हुनुपर्ने प्रतिवद्धता सहित हस्ताक्षर गरेर वडालाई बालविवाह र छुवाछुत मुक्त घोषणा गरेका हुन् । शुद्धोधन गा.पा. १ को वडा कार्यालय, बालविवाह तथा छुवाछुत विरुद्धको निगरानी समिति तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको अगुवाईमा बालविवाह तथा छुवाछुत मुक्त वडा घोषणा भएको हो ।

घोषणा समारोहमा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले विकासको बाधकको रुपमा रहेको बालविवाह तथा छुवाछुत अन्त्य गरेर जिल्लाको मानवीय विकासको सूंचाक माथी उठाउनुपर्ने जोडदिएका छन् । प्रमुख आचार्यले अझै पनि कपिलवस्तु जिल्ला शिक्षामा पछाडी परेकाले पालिकाहरुले शिक्षाको माध्यमबाट समाजमा चेतना फैलाउनुपर्ने बताए ।

‘कुनै पनि धर्म शास्त्रमा मानवलाई भेदभाव गरेको पाइदैन, यो सवै चिज समाजले गरेको भेदभाव हो, शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले भने’, ‘तपाई हामी सवै मिलेर यसको अन्त्य गर्नुपर्दछ ।’

अध्यक्ष चौधरीले सवै जातजाती, धर्म, संस्कृतिको सम्मान गर्दै मानव मानव बीचको एकता, सद्भाव र सकारात्मक सोचले समाज रुपान्तरण हुने बताए ।

कार्यक्रममा निवर्तमान गाउँपालिका अध्यक्ष निशार अहमद खाँ, वडा नम्बर २ का वडा अध्यक्ष मनोज यादव, मायादेवी गाउँपालिका ३ का वडा अध्यक्ष शैलेन्द्र कुमार यादव, सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष सूर्यकुमारी शाही, पूर्ण केशर मा.वि.का प्रद्यानाध्यापक लीला खनाल, मदरसाका मोल्वी मोजीबुल रहमान लगाएतले वडामा बालविवाह र छुवाछुत अन्त्यको प्रतिवद्धता व्यक्त गर्दै यसको निरन्तरताका लागि लागि शिक्षा र चेतना अपरिहार्य रहेको बताएका थिए ।

कार्यक्रममा वडा अध्यक्ष तिलकराम यादवले वडामा विभिन्न कार्यक्रम, सचेतना संचालन भइरहेकाले विभिन्न निकायको अनुगमनको माध्यमबाट समाजमा बालविवाह र छुवाछुत कतै नपाइएकाले वडालाई बालविवाह र छुवाछुत अन्त्य भएको प्रतिवेदन सुनाएका थिए ।

बालविवाह तथा छुवाछुत अन्त्यका लागि सिद्धार्थ सामाजिक विकास केन्द्र र आईएम स्वीडिस डेभलपमेण्ट पार्टनरको साझेदारीमा संचालित रुपान्तरण कार्यक्रमले विगत ७ वर्षदेखि पालिकामा बालविवाह तथा छुवाछुत विरुद्धको अभियान अन्तरगत विभिन्न तालिम, शसक्तिकरण, सचेतना, बहस केन्द्र संचालन गर्दै आइरहेको कार्यक्रम संयोजक धनेश्वरी घर्तीले जानकारी दिइन् ।

घोषणा समारोह कार्यक्रम पतेरीया स्वास्थ्य चौकी प्रमुख नाथुराम चौधरीको संचालन, वडा अध्यक्ष तिलकराम यादवको अध्यक्षता तथा सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम समन्वय प्रमुख रोमकान्त घिमिरको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा घोषणा कार्यक्रममा प्रत्यक्ष सहयोग गर्ने समूह, संस्था, निकायहरुलाई प्रंशसा पत्रले सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ३ पुस २०७९ आइतबार ००:००  १ : ०१ बजे