१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अध्यादेश प्रमाणीकरणको माग गर्दै चारनम्बरमा प्रदर्शन



कपिलवस्तु ।

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै कपिलवस्तुको चारनम्बरमा प्रदर्शन गरिएको छ ।

सरकारले गत आइतवार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई छुटाउने मनशायसहित मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो । सोही अध्यादेशलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्न माग गर्दै बाणगंगाको चारनम्बरचोकमा थारु समुदायले प्रदर्शन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै थारुहट÷थारुवान संयुक्त संघर्ष समिति कपिलवस्तुका संयोजक समेत रहेका थारु कल्याणकारिणी सभा कपिलवस्तुका जिल्ला अध्यक्ष उमाशंकर थारुले रेशम चौधरीलगायतका आरोपित व्यक्तिहरु निर्दोष रहेको दाबी गरे । उनले टीकापुर घटनाको सम्बन्धमा गठित आयोगको प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्नुपर्ने बताए ।

यस्तै थारु कल्याणकारिणी सभाकी केन्द्रिय सदस्य सुमित्रा कुमारी थारुले अध्यादेश संवैधानिक रुपमा आएको भन्दै छिटोभन्दा छिटो प्रमाणिकरण हुनुपर्नेमा जोड दिईन् । उनले टीकापुर घटनाको सम्बन्धमा विभिन्न मितिमा कार्यदल गठन गरि सहमति पत्रमा हस्ताक्षर भएता पनि कार्यान्वन नभएकोमा आपत्ति जनाईन् । थारु समुदायको हक हित र अधिकारका लागी टिकापुर आन्दोलन भएको दाबी गर्दै उनले भनिन्, ‘राज्य पक्षबाट नै टिकापुर घटना भएको हो । त्यसमा मुख्य दोषीलाई छाडेर निर्दोषलाई सजाय दिईएको छ ।’

थारु कल्याणकारिणी सभा बाणगंगाका पुर्वअध्यक्ष भग्गुप्रसाद थारुले सरकारले हालै ल्याएको अध्यादेशमा नेकपा (एमाले) ले द्वेध चरित्र देखाएको आरोप लगाएका छन् । विगतमा एमाले सरकारले पनि रेशम चौधरीको रिहाइको लागि सम्झौता गरेको उल्लेख गर्दै उनले आफूले सम्झौता गर्दा ठिक र अर्को सरकारले गर्दा बेठिक भनि एमालले द्वेध चरित्र प्रदर्शन गरेको बताए ।

थारु कल्याणकारिणी सभा कपिलवस्तु र थारुहट÷थारुवान संयुक्त संघर्ष समिति कपिलवस्तुले आयोजना गरेको उक्त कार्यक्रममा थारु समुदायसँग सम्बन्धित पार्टी, संघ, संगठन तथा व्यक्तिहरुको उपस्थिति थियो । उनीहरुले अध्यादेश अविलम्व प्रमाणीकरण गरिनुपर्ने र रेशम चौधरीलगायत टीकापुर घटनामा कैदको सजाय भोगिरहेका बन्दीहरुलाई कैदमुक्त गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : ३ पुस २०७९ आइतबार ००:००  ६ : २१ बजे