११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

पुस १० भित्र नयाँ सरकार बन्नेछ : प्रचण्ड



काठमाण्डौ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस १० गतेभित्र नयाँ सरकार बन्ने बताएका छन्।

आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले राष्ट्रपतिले दिएको समयभित्रै नयाँ सरकार बन्ने बताए।

उनले गठबन्धनभित्र छलफल गरेर प्रधानमन्त्री चयन गरिने बताएका छन्।

‘राष्ट्रपतिले समय दिएअनुसार ७ दिनभित्र नै नयाँ सरकार बन्छ,’ उनले भने, ‘को प्रधानमन्त्री बन्ने भन्ने विषयमा गठबन्धनभित्र छलफल चलिराखेको छ। हामी गठबन्धन बस्छौं र गठबन्धनबाट सजिलै निर्णय हुन्छ।’

तर उनले प्रधानमन्त्री बन्नेबारे भने आलोपालो समझदारी बनेको दाबी गरेका छन्।

देशको नेतृत्व गर्ने अवसर पाएमा जिम्मेवारी लिने भने पनि आफूले औपचारिक रूपमा गठबन्धनमा प्रधानमन्त्री बन्नेबारे कुरा नराखिसकेको उनले बताए। ‘तपाईंहरूले सुनेजस्तो गठबन्धनभित्र औपचारिक दाबी गरिसकेको छैन,’ उनले भने।

मिलेसम्म गठबन्धनबाट नमिले एमालेसँग मिलेर तपाईं प्रधानमन्त्री बन्ने हो भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै प्रचण्डले ‘त्यो कुरा जसरी प्रचार भएको छ त्यस्तो स्थिति होइन’ भन्ने जवाफ दिएका थिए।

निर्वाचनपछि सबै राजनीतिक दल र नेताहरूसँग छलफल हुनु स्वभाविक प्रक्रिया भएको उनले बताए। प्रधानमन्त्रीका लागि आफूले सबै कुरा दाउमा नराखेको पनि प्रचण्डको भनाइ थियो।

प्रकाशित मिति : ४ पुस २०७९ सोमबार ००:००  १२ : ५४ बजे