१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लुम्बिनी प्रदेशसभा बैठक नयाँ भवनमा बस्ने



काठमाडौं ।

लुम्बिनी प्रदेशसभाको बैठक दाङको भालुवाङमा निर्माण गरिएको नयाँ प्रदेशसभा भवनमा बस्ने भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ) मा नयाँ प्रदेश सभा भवन निर्माणको काम अव करिव सकिन लागेको र पहिलो बैठक नै यही भवनमा बस्ने गरी प्रदेशसभा सचिवालयले काम अगाडि बढाएको छ ।

राप्ती गाउँपालिका- ३ लालमटियामा निर्माण भैरहेको प्रदेश सभा भवनको पूर्वाधार निर्माणको काम करिव सकिइसकेको छ । पूर्वाधार निर्माणको काम लगभग सकिएको छ, प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीले भने, अब अन्य सानातिना काम बाँकी छन् ।

राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माविमा स्थानान्तरण गरेपछि सोही स्थानमा मुख्यमन्त्री कार्यालयलगायत अन्य मन्त्रालयका लागि संरचना प्रयोगमा आएका हुन् । नवनिर्वाचित प्रदेश सांसदहरूले भालुवाङस्थित नयाँ भवनमा सपथग्रहण गर्ने तयारी भइरहेको छ ।

केसीका अनुसार विद्युत् जोड्ने, रंगरोगन, एसी राख्ने, टेबुल, कुर्सी, कार्पेट बिछ्याउने काम पनि भइरहेको छ । भवन वाइबी स्टोन बिल्डर्स प्रालिले निर्माणको जिम्मा पाएको थियो । प्रदेश सभा भवनमा सभाहलसँगै भिआइपी कोठा, भोटिङ कोठा, मर्यादापालकका लागि १४ वटा कोठा बनेका छन् । प्रदेशसभा भवनको लागत एक अर्ब २० करोड रहेको छ ।

प्रदेश सभा भवनभित्रको काम सबै पूरा भइसकेको छ भने बाहिर इन्टरलक लगाउने बाँकी छ । विद्युत जोडिएको छ । रंगरोगन भइसकेको छ । अब बाँकी एसी राख्ने, टेबल, कुर्सी, कार्पेट विछ्याउने, प्रदेशसभालाई चाहिने माइक्रोफोन राख्नेलगायतका डेकोरेसनको काम बाँकी छ । त्यो सबै जिम्मा प्रदेश सभाले लिएको छ ।

पुस तेस्रो सातासम्ममा बैठक बस्ने गरी तयारी थालिएको छ । आन्तरिक मामिला कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माका अनुसार मुख्यमन्त्री कुलप्रसाद केसी हाल काठमाडौं रहेको र उनी फर्केपछि मन्त्रिपरिषद् बैठकले यससम्वन्धी आवश्यक निर्णय गर्नेछन् ।

लुम्बिनी प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुखले शपथ गराउने छन् । प्रदेश सभा नियमावली २०७९ को नियम ४ बमोजिम प्रदेश प्रमुखले अधिवेशन आह्वान गरिसकेपछि सदस्यहरूको शपथ हुनेछ ।

न्युज कारखाना

प्रकाशित मिति : ६ पुस २०७९ बुधबार ००:००  ८ : ४६ बजे