१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

गैरपत्रकारलाई महासंघबाट हटाउन कपिलवस्तुका प्रेस संगठनको माग



मायादेवी अनलाइन, जितपुर ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखामा रहेका गैर पत्रकारलाई महासंघबाट हटाउन प्रेस विज्ञप्ति जारी गरिएको छ । प्रेस चौतारी नेपाल कपिलवस्तुका अध्यक्ष बाबुराम रायमाझी, प्रगतिशील पत्रकार संघ कपिलवस्तुका अध्यक्ष मोहन बेल्बासे र समाजवादी प्रेस सङ्गठनका केन्द्रीय सदस्य दिपक अनुरागीले हस्ताक्षर गरेको संयुक्त रुपमा मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिमा यस्तो लेखिएको छ ।

नेपाल पत्रकार महासंघ कपिलवस्तुमा केन्द्रको हवाला दिदै सदस्यता स्थानान्तरण गरिएको केन्द्रिय समितिको पत्र प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । महासंघको जिल्ला शाखा कब्जा गर्ने रणनीति अनुरूप अधिकांश गैर पत्रकारलाई केन्द्रका मिडियाबाट सदस्यता वितरण गर्नू र ती गैर पत्रकार जिल्ला शाखामा स्थानान्तरण गराइनु अत्यन्तै खेदजनक र निन्दनीय कार्य भएको हाम्रो ठहर छ ।

नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको २०७८ भाद्र २६ गते र २०७९ मंसिर २३ गतेको पत्र अनुसार जनसंचार प्रतिष्ठान, माउण्टेन टिभि प्रतिष्ठान र स्वतन्त्र समाचार सेवाबाट स्थानान्तरण गरिएका ती सदस्यहरु कुन मापदण्डको आधारमा समावेश गरि शाखामा अभिलेख राख्न पठाइएको हो रु यसको जवाफ केन्द्रिय समिति, प्रदेश समितिले तत्काल कपिलवस्तु शाखामा आधिकारिक जानकारी गराउन माग गर्दछौं ।

ती सदस्यहरु कुनै मिडियामा आवद्ध नभएका, नेता पत्रकारका आसेपासे, श्रीमती, ससुरा, भाई, भतिजा, पार्टीका कार्यकर्ता, सरकारी लगाएत भएकाले नेपाल पत्रकार महासंघको विधान अनुसार सदस्यता मापदण्ड नपुगेकाले अभिलेख राख्न नहुने माग गर्दै तत्काल खारेजीको जोडदार माग गर्दछौं ।

अन्त्यमा, शाखामा सदस्यता स्थानान्तरण गर्दा महासंघमा आवद्ध नेतृत्वले दलगत स्वार्थ अनुसार विधि प्रकृया मिचेर सिधै केन्द्रबाट सदस्यता दिने र जिल्ला स्थानान्तरण गर्ने कार्य प्रति हाम्रो आपत्ती हो । सम्पूर्ण श्रमजीवि पत्रकारको हक हितमा कृयाशिल महासंघ यस प्रकारको कार्यले सिंगो पत्रकारिता जगत बदनाम हुन्छ ।

त्यसैले उक्त निर्णय तत्काल सच्चाउन माग गर्दछौं । महासंघको जिल्ला शाखामा शुद्धिकरणको विषय उठिरहेको बेला गरिएको यो कार्यले पनि तमाम् श्रमजीवि पत्रकार चिन्तित भएका छन् । पुनः स्थानान्तरणको कुनैपनि कार्य अघि नबढाउन केन्द्र र प्रदेश समितिलाई आग्रह गर्दै अन्यथा बलजफ्ती भए हामी चरणवद्ध आन्दोलनमा जान बाध्य हुनेछौं ।

प्रकाशित मिति : ६ पुस २०७९ बुधबार ००:००  ११ : १२ बजे