५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

देशभर चिसो बढ्योः कपिलवस्तुमा बिहानै देखि बाक्लो हुस्सु



काठमाडौं ।

कपिलवस्तु सहित मुलुकभर चिसो बढेको छ। पुस लागेसँगै मुलुकभर अधिकतम र न्यूनतम तापक्रम घट्न थालेकामा पछिल्लो समय बिहानपख देशभर हुस्सु लाग्न थालेको छ।

काठमाडौंसहित तराईका केही क्षेत्रमा बुधबार मध्याह्नसम्म नै हुस्सु लागेको थियो भने मध्य तराईमा दिउँसो पनि घाम लाग्न सकेन ।

काठमाडौंमा न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस पुगेको छ। बुधबार ३.४ डिग्री तपाक्रम मापन गरिएको काठमाडौं उपत्यकामा आज बिहान न्यूनतम तापक्रम ३ डिग्री आसपास छ। अधिकतम तापक्रम पनि १७ डिग्रीमा झरेको छ।

यस्तै जुम्लामा माइनस ६ रहेको तापक्रम जोमसोममा माइनस ६ डिग्री तथा जिरीमा माइनस २.६ डिग्री सेल्सियस रहेको छ।

हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागहरुमा हुस्सु र कुहिरो लागेको छ।

देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले हिमाली क्षेत्रमा हिमपात र तराईका क्षेत्रमा कुहिरो लागेको हो।

आज दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहनेछ। प्रदेश १ को हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहनेछ।

प्रदेश १ र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : १४ पुस २०७९ बिहिबार ००:००  ८ : १३ बजे