२७ बैशाख २०८१, बिहिबार | Thu May 9 2024

कपिलवस्तुमा जाडो बढ्दा जनजीवन कष्टकर



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुसहित तराई–मधेशमा दुई/तीन दिनदेखि एक्कासि बढ्दै गएको चिसो हावाका कारण जाडो बढ्दा जनजीवन कष्टकर बन्दै गएको छ ।

एक्कासि वातावरणमा परिवर्तन आएर चिसो हावासँगै शीत लहरसमेत बढेकाले तराई–मधेशका जिल्लामा जाडो बढेको हो ।

तराई क्षेत्रमा बढ्दै गएको शीतलहरले मानव जीवनसँगै घरपालुवा जनावरलाई पनि असर पारेका कारण कष्टकर देखिएको छ ।

बाक्लो हुस्सु लागेका कारण घाम लाग्न छाडेपछि तराईमा चिसो बढेको हो । एक–दुई दिनदेखि एक्कासि बढेको चिसोका कारण बालबालिका, वृद्धवृद्धा र विपन्न परिवार बढी प्रभावित भएका छन् । चिसोले गर्दा बालबालिकालाई विद्यालय जान समस्या हुन थालेको छ ।

बाक्लो कुहिरो लागेका कारणले पूर्व–पश्चिम राजमार्ग र सहायक मार्गका सडकमा आवतजावत गर्ने सवारी चालकले बाटो हेर्न नसकेर सडक दुर्घटना हुने खतरासमेत बढेको चालक बताउँछन् ।

दिउँसोको समयमा अलिअलि घाम लागे पनि बिहान र बेलुकाको समयमा अत्यधिक चिसो हुने गरेको छ । चिसोले गर्दा मानिस बिरामी पर्न थालेका छन् । चिसोबाट बालबालिका र वृद्धवृद्धामा बढी असर पुगेको छ ।

प्रकाशित मिति : १४ पुस २०७९ बिहिबार ००:००  ४ : २१ बजे