१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

स्थानीय पाठ्यक्रम लागू गर्दै बाणगंगा नगरपालिका



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । स्थानीय विषयवस्तुलाई समेटेर नगरपालिकाका सबै विद्यालयमा कक्षा एक देखि पाँचसम्म स्थानीय पाठ्यक्रम लागू गर्ने भएको हो ।

सिद्धार्थ सामाजिक विकास केन्द्रले स्ट्रोेम फाउण्डेशनको सहयोेगमा सीड्स कार्यक्रम संचालन गरी वाणगंंगा नगरपालिकाको आयोजनामा स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गर्न लागेको सिद्धार्थ सामाजिक विकास केन्द्रका निवर्तमान अध्यक्ष तथा सीड्स कार्यक्रमका फोकल पर्सन तेज प्रसाद आचार्यले बताउनु भयो ।

पाठ्यक्रममा वन जंगल, कृषि, जातिगत विविधता, ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचान समेतलाई समेटिने छ । कक्षा ६ देखि ८ सम्मको अहिले स्थानीय पाठ्यक्रम र पाठ्यपुस्कत निर्माण तथा लागु भइसकेको छ भने कक्षा १ देखि ५ सम्मको पाठ्यक्रम निर्माण का लागी विषयबिज्ञ राखी खाका तयार गर्ने काम धमाधम भइरहेको वाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसी बताउनु हुन्छ ।

समितिले सरोकारवालासँग छलफल तथा सुझाव संकलन गर्दै पाठ्यक्रमको मस्यौदा लेखनको काम शिक्षालाई समसामयिक, व्यवहारिक र उद्देश्य मुलक बनाउन र शैक्षिक गुणस्तर बृद्धि गर्नका निमित्त स्थानीय पाठ्यक्रमको आवश्यकता भएको हुदा विद्यालय तहमा लागु गर्ने स्थानीय पाठ्यक्रम निर्माण समिति कार्यदलका संयोजक बाबुराम भट्टराईले बताउनु भएको छ ।
पाठ्यक्रम तयार पार्न प्रधानाध्यापक, अभिभावक, राजनीति संगठनका प्रतिनिधि, शिक्षक प्रतिनिधि, जनप्रतिनिधिलगायतको सहभागितामा सुझाव संकलन गरिएको र सोही आधारमा विषयलाई पनि प्राथमिकता दिएको छ ।

पाठ्यक्रममा जिवन दर्शन, जिवनवृद्धि विकास योजना, सम्वाद, असल संस्कृति निर्माणका पाठ्यक्रमबाट नैतिकवान, चरित्रवान विद्यार्थी उत्पादन गर्ने हिसाबले स्थानीय पाठ्यक्रम निर्माण भइरहेको स्थानीय पाठ्यक्रम निर्माण समिति कार्यदलका विज्ञ रोमकान्त घिमिरेले बताउनु भएको छ ।

बाणगंगा नगरपालिकामा विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार भइरहेको स्थानीय पाठ्यक्रमले वाणगंगा नगरपालिकाका साथै कपिलवस्तुको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटन लगायत चिनारीमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १६ पुस २०७९ शनिबार ००:००  १२ : ३३ बजे