६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

कपिलवस्तुमा सामूहिक तरकारी खेती गतिलो स्वरोजगारको माध्यम



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा सामूहिक तरकारी खेती आयआर्जनको गतिलो माध्यम बनेको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ३, १० र ११ मा गरिएको सामूहिक तरकारी खेती आयआर्जनको गतिलो माध्यम बनेको हो ।

बाणगंगाका यी तीन वडामा आदिवासी, जनजाती समुदायको बाक्लो बस्ति छ । गरिबी, विपन्नताको समस्या झेल्दै आएका वडाका बासिन्दाले गाउँमै कृषक समूह निर्माण गरी सामुहिक तरकारी खेतीबाट आयआर्जनका साथै जिविकोपार्जन गरिरहेका हुन् ।

सिद्धार्थ सामाजिक विकास केन्द्र र स्टोम फाउण्डेसन नेपालको सहकार्यमा सञ्चालित दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण कार्यक्रम अन्तर्गत सुरु भएको तरकारी खेती समुदायको लागि गतिलो स्वरोजगारको माध्यम बनेको हो । ०७६ देखि सञ्चालन भएको यो कार्यक्रमले डेढ विगाई जग्गा भाडामा लिएर गाउँलेले सामुहिक तरकारी खेती थालेका थिए । तरकारी खेतीले जिविकोपार्जनमा महत्वपूर्ण भूमिका खेलेको किसानहरु बताउँछन् ।

३५ जनाको समूहमा अधिकांश आदिवासी, दलित र विपन्न महिला छन् । समूहले मौसमी र बेमौसमी तरकारी खेत गर्दै आएको छ । बजारमा तरकारीको माग बढ्नु र बजारसम्म ल्याउनका लागि यातायातको सुविधा हुनुले किसानलाई उत्पादित तरकारी विक्रिवितरण गर्न समस्या छैन् । एक्लै काम गर्न कठिन हुने र समूहमा मिलेर गर्दा थोरै लगानीमा धेरै आम्दानी गर्न सकिएको उनीहरुसँग अनुभव छ ।

सिद्धार्थ सामाजिक विकास केन्द्र र स्टोम फाउण्डेसनले अहिलेसम्म सामूहिक तरकारी खेती गर्ने समूहलाई सात लाख नगद सहयोग गरेको छ भने किसानलाई चाहिने कृषि उपकरण खरिद गरी दिएको छ । बेला बेला तरकारी खेती सम्बन्धि तालिमको पनि आयोजना गरी किसानलाई दक्ष बनाउने प्रयास गरिरहेको बरिष्ठ कार्यक्रम संयोजक आरटी खान बताउँनुहुन्छ ।

लामो समय देखि सिद्धार्थ सामाजिक विकास केन्द्रले समाजमा आर्थिक तथा सामाजिक रुपबाट पछाडी परेका र पारिएका गरिव, विपन्न वर्ग, लिंग, समुदायको अधिकार स्थापनाको लागि निरन्तर कृयाशिल रही काम गर्दै आएको छ । साथसाथै सामाजिक, आर्थिक, साँस्कृतिक तथा राजनीतिक सशक्तिकरणको रुपान्तरणमा समुदायलाई केन्द्र विन्दुमा राखि गरिब तथा पछाडि पारिएका समुदायको अधिकारको लागि पैरवी, क्षमता अभिवृद्धि, सशक्तिकरण, जीविकोपार्जन, सचेतना तथा अभियान संचालन गर्दै आइरहेको छ । यसैको योगदान स्वरुप बाणगंगाका तीन वडामा सुरुवात भएको सामूहिक तरकारी खेती आम्दानीको गतिलो उदाहरण बनेको हो ।

प्रकाशित मिति : १६ पुस २०७९ शनिबार ००:००  ७ : ३० बजे