१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

गर्भावस्थाको खानपान : नरिवल पानी पिउँदा सुन्दर बच्चा जन्मिन्छ ?



काठमाडौं ।

गर्भावस्थामा आफ्नो बच्चाप्रति जति उत्सुकता र उत्साह हुन्छ, उत्तिकै भय पनि । भय यसकारण कि कतै बच्चामा कुनै जन्मजात समस्या त देखिने होइन ?

हरेक आमाबुवा चाहन्छन्, आफ्नो बच्चा सग्लो जन्मियोस्, स्वस्थ होस् । तन्दुरुस्त होस् । सही तौलको होस् । र, सुन्दर पनि ।

गर्भको शिशु कसरी सुन्दर हुन्छ त र?

मान्छेहरु भन्छन्, ‘गर्भावस्थामा नरिवल पानी खाँदा बच्चा सुन्दर जन्मिन्छन् ।’

गर्भावस्थामा आमाले जस्तो खानपान गर्छन्, त्यसको सोझो प्रभाव गर्भको शिशुमा पर्छन् भनेका छन् चिकित्सकहरुले । त्यसैले उनीहरुले यस अवस्थामा के खाने र के नखाने भनी निर्देशिका नै तयार गरेका छन् । यस हिसाबले गर्भावस्थामा नरिवल वा नरिवल पानी एकदमै लाभदायक हुने पोषणविद्हरु बताउँछन् ।

‘त्यस क्षणमा नरिवल पानी पिउँदा शरीरको तापमान सन्तुलित हुन्छ,’ पोषणविद् प्रतीक निरौला भन्छन् । यद्यपि नरिवल पानीकै कारण बच्चा गोरो वा सुन्दर जन्मिन्छन् भन्ने कुरा भ्रम रहेको उनी बताउँछन् ।

बच्चाको विकासका लागि फाइदाजनक नरिवल पानी

गर्भावस्थामा नरिवल पानीको सेवनले बच्चाको विकास राम्ररी हुन पाउँछ । नरिवलको पानीमा ओमेगा-३ फ्याटी एसिड र क्याल्सियम प्रचुर मात्रामा पाइन्छ, जुन बच्चाको विकासका लागि महत्त्वपूर्ण मानिने निरौला बताउँछन् । नरिवल पानीमा क्याल्सियम, पोटासियम, म्याग्नेसियम र भिटामिन सी प्रचुर मात्रामा पाइन्छ ।

‘गर्भावस्थामा नरिवलको पानी पिउनाले गर्भवती महिलाको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै मिर्गौलाको काममा सुधार ल्याउँछ,’ निरौला भन्छन्, ‘यसको सेवनले पिसाब नलीको संक्रमणबाट बचाउने र उच्च रक्तचाप कम गर्न पनि सहयोग गर्छ ।’

गर्भावस्थामा कब्जियत एक सामान्य समस्या हो तर नरिवल पानीको सेवनले यसबाट बच्न सकिने उनको सुझाव छ । नरिवलको पानीमा क्यालोरी, ओमेगा-३ फ्याटी एसिड र फाइबर प्रशस्त मात्रामा पाइन्छ, जसले गर्भावस्थामा महिलाको तौल नियन्त्रणमा राख्न मद्दत गर्छ ।

आमाको खानपानको प्रभाव बच्चामा

गर्भावस्थाको समयमा खानपानमा विशेष ध्यान दिनुपर्छ । गर्भवतीले खाएका खानेकुराबाट नै बच्चाले सम्पूर्ण पोषण प्राप्त गर्छ । बच्चाको शारीरिक र मानसिक वृद्धि विकासमा खानपानको महत्त्वपूर्ण भूमिका हुने निरौला बताउँछन् ।

गर्भावस्थामा आफू र गर्भको बच्चा दुवै जनाका लागि खाना पु¥याउनुपर्ने हुनाले अरू बेलाको भन्दा बढी खानु जरुरी हुन्छ । अरू बेला चार पटक खाना खाइन्छ भने गर्भावस्थामा पाँच पटक खानुपर्ने निरौला सुझाउँछन् ।

‘गर्भवती महिलाले स्थानीय स्तरमा उपलब्ध हुने सात समूहका विभिन्न खाद्यवस्तुहरू जस्तै अन्न वा जमिनमुनि फल्ने कन्दमूल, गेडागुडी तेलहन, दूध तथा दुग्ध पदार्थ, मासु(माछा अण्डा, भिटामिन पाइने फलफूल र तरकारीमध्येबाट कम्तीमा चार समूहका खानेकुरा खानुपर्छ । यस्ता पोषणयुक्त खानपानले गर्भवती महिला र गर्भको बच्चालाई स्वस्थ राख्न मद्दत गर्छ,’ निरौला भन्छन् ।

बच्चा तन्दुरुस्त-कमजोर, ठूलो(सानो जन्मिनुमा खानपानको महत्त्वपूर्ण भूमिका हुन्छ । आमाले खाएको खानेकुराबाट गर्भको बच्चा बाँच्ने हुनाले उनको खाना बढी पोषिलो हुनुपर्छ ।

‘आमाले खाएको खानाबाट बच्चाले उचित मात्रामा प्रोटिन, भिटामिन, खनिज पदार्थ क्याल्सियम, फस्फोरस, फलाम र शक्ति पाउँछ,’ निरौला भन्छन्, ‘जस्तै, खानामा क्याल्सियमको कमी भएमा बच्चाको शरीरको संरचना राम्रो हुँदैन, हाड र दाँत राम्रो बन्दैन, दाँतमा कीरा लाग्छ । त्यसैले गर्भावस्थामा क्याल्सियमयुक्त खानेकुरा बढी खानुपर्छ ।’

प्रकाशित मिति : २८ पुस २०७९ बिहिबार ००:००  २ : ४९ बजे