५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तु महोत्सवः ट्राफिक नियम सिकाइरहेको ‘डमी प्रहरी’



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ बुद्ध रंगशालामा जारी ‘१३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी’ को मूलगेटबाट प्रवेश गरिसकेपछि स्टलको उत्तरपट्टी एउटा दृश्य देखिन्छ ।

कालो जुत्ता, निलो पाइन्ट, आकाशे रङको कमिज, मुखमा मास्क, आँखामा चस्मा र शिरमा टोपी लगाएको त्यसले केही लेखिएको हातमा सेतो प्लेकार्ड छोपिरहेको देखिन्छ ।

पहिलोपटक त्यसलाई देख्ने दर्शक ‘मान्छे’ हो कि भनेर झुक्किन्छन् । गेटबाट प्रवेश गरेपछि दायाँबायाँ ननियालि हिँडिरहेका कतिपय दर्शक त तर्सन्छन् पनि, प्रहरी भनेर ।

तर त्यो सजिव मान्छे नभएर ‘डमी प्रहरी’ हो । जसले ‘ट्राफिक नियमको पालना गरौँ, आफू बाँचौँ र अरुलाई पनि बचाऔँ’ नामक सचेतनामूलक सन्देश लेखिएको सेतो प्लेकार्ड समातेर उभिरहेको छ । कपिलवस्तु महोत्सव अवलोकन गर्ने दर्शकहरुलाई दैनिक रुपमा त्यसले ट्राफिक नियम सिकाइरहेको छ ।

कपिलवस्तु महोत्सवमा ट्राफिक नियम पालना गराउने उद्धेश्य राखेर जिल्ला ट्राफिक प्रहरी र नेपाल प्रहरीको सयोजनमा डमी प्रहरी राखिएको प्रहरी बताउँछ । दर्शकको पहिलो आँखा जाने ठाउँमा नै यस्तो सचेतनासहितको डमी राख्दा नियम बिर्सेका धेरैले पनि ट्राफिक नियम सम्झन्छन् भन्ने प्रहरीको विश्वास छ ।

त्यही डमीको एक छेउमा मानिसले पालना गर्नुपर्ने सबै ट्राफिक चिन्हहरुको संकेतसहितको ठुलो वोर्ड पनि देख्न सकिन्छ । यस्तै सवारीका बिभिन्न प्रकारका नम्बर प्लेटको जानकारी पनि त्यहाँ राखिएको छ ।

‘दर्शकलाई यस्तै सुचना दिने पोष्टर र पम्प्लेट वितरण गर्न भनी स्टलमा दैनिक प्रहरी पनि खटिरहेका हुन्छन्’, इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबाबु केसी भन्छन्, ‘नेपालमा अहिले डमी प्रहरीको कारण धेरै दुर्घटना कम भएका छन् । हामीले महोत्सवमा मात्र नभएर नगरका बिभिन्न स्थानमा यस्ता डमीको प्रयोग बढाएका छौँ । जसले समाजलाई सचेत र सतर्क बनाइरहेको छ ।’

तर त्यही सचेतनाको लागि स्टलमा खटिएकी एक जना महिला प्रहरीले धेरै दर्शकको ध्यान यस्ता सचेतनामुलक कुरामा नरहेको बताइन् । उनी भन्छिन ‘कतिपय प्रहरी हो कि भनेर झुक्किन्छन् । कतिपयले नयाँ देखेको हुनाले फोटो पनि खिच्छन् । कतिपयले सोध्छन् र चिन्ह पनि हेर्छन् । तर धेरै मान्छेले वेवास्ता गरी हिँड्छन् ।’ महोत्सवमा आउने दर्शकलाई उनको अनुरोध छ कि ‘एकपटक डमीको सन्देश र त्यहाँ भएका ट्राफिक चिन्हहरु पढेर जानू’ ।

आयोजक कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेलाका संयोजक डोलकराम घिमिरेले जनतामा हराएको चेतना पुर्नताजकी होओस् भनेर महोत्सवमा डमी प्रहरी राखिएको बताउँछन् । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत देशभर यस्तो अभियान नै चलेको छ । त्यसै अनुसार मातहतका प्रहरीले यस्तो गतिविधि गर्ने गर्दछन् ।

प्रकाशित मिति : १९ माघ २०७९ बिहिबार ००:००  ६ : २३ बजे