७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

विजयनगरले सरसफाइमा अरुलाई पाठ सिकाउँन सक्छ !



मायादेवी अनलाइन, बाणगंगा ।
मानव र वातावरण सरसफाइ आजको प्रमुख आवश्यकता बनेको छ । स्वस्थ शरीरले मात्र जीवनका अनेकन श्रृङ्खला पार गर्न सक्छ । प्रदूषित वातावरणमा स्वस्थ मानव जीवनको कल्पना समेत गर्न सकिदैन् । कपिलवस्तुको एक स्थानीय तह सरसफाइमा उदाहरणीय मात्र बन्न खोजेको छैन्, अरुलाई पाठ पढाउने गरी लागेको छ ।

नेपालको संविधान २०७२ जारी भएसंगै मुलुक संघीय संरचनामा गएपछि गाउँघरको सरकारको रुपमा स्थानीय तहहरु आए । विजयनगर गाउँपालिका त्यसैको संरचना हो । ०७४ को पहिलो स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले विजयनगरमा सरसफाइको क्षेत्रलाई प्राथमिकतामा राख्दै आएका छन् ।

संयोग नै मान्नुपर्छ कपिलवस्तुको पहिलो खुल्ला दिशामुक्त यही पालिकाको गुगौली थियो । साविक गुगौली गाविस जिल्लामै पहिलो खुल्ला दिशामुक्त भएको स्थान हो । गाउँपालिकाको नेतृत्वमा गोपाल थापा आएसंगै सरसफाइ प्राथमिकतामा पर्दै आएको छ । तत्कालिन जिविसबाट वास सहजकर्ताका रुपमा कर्मचारी खटिदै आएका थिए । स्थानीय पालिका बनेसंगै अधिकांशले वास सहजकर्ता नराखे पनि विजयनगरले राखेको थियो ।

अघिल्लो कार्यकालमा सरसफाइका क्षेत्रमा नीतिगत सुधार गरेको विजयनगरले यो कार्यकालमा देखिने गरी काम थालेको छ । गाउँपालिकाको अध्यक्षमा दोस्रो पटक निर्वाचित भएका थापा विजयनगरलाई सुन्दर र सरसफाइयुक्त बनाउनका लागि कम्मर कसेर लागेका छन् ।

चालु आवमा गाउँपालिकाले सरसफाइको क्षेत्रमा तीन करोड रुपैयाँ छुट्याएको छ । पालिका भित्र अनिवार्य शौचालय बनाउन पालिकाको उर्दी छ । आर्थिक रुपमा कमजोर घरपरिवारका लागि निशूल्क शौचालय बनाउने गरी पालिकाले बजेट छुट्याएको हो । आर्थिक रुपमा बलियो तर शौचालय नबनाउनेमाथि पालिका ‘एक्सन’मा उत्रिएको छ ।

वडा नं. ७ बाट पालिकामा सरसफाइ अभियानको औपचारिक रुपमा सुरुवात गरिएको पालिकाका अध्यक्ष थापाले बताए । यस वडामा शौचालय नबनाउने चार जना सरकारी कर्मचारी भेटिएका छन् । ती कर्मचारीमाथि पालिका कारबाहीको एक्सनमा उत्रिएको छ । सरकारी कर्मचारीले नै शौचालयको प्रयोग नगरेपछि पालिकाले कारबाहीको प्रक्रिया अगाडी बढाएको हो । वडा अध्यक्ष दिनेश चौधरीले शौचालय नबनाएका यी कर्मचारीलाई कारबाहीको लागि पालिकामा सिफारिस गरेको बताए । पालिकाले कर्मचारीलाई बोलाएर तत्काल शौचालय बनाउन भनेको र तोकिएको मितिमा शौचालय नबनाए कारबाही प्रक्रिया अगाडी बढाउने गरी निर्देशन दिएको अध्यक्ष थापाले जानकारी दिए ।

शौचालय नबनाउने कर्मचारीमाथि नै कारबाही हुन थालेपछि शौचालय बनाउन अटेरी गर्नेहरुले धमाधम शौचालय बनाउन थालेका छन् ।

पालिकाले सरसफाइ कार्ड मार्फत कडाई गर्न थालेको छ । प्रत्येक घरपरिवारले वडा र पालिकामा सेवा लिन आउन सरसफाइ कार्ड लिएर आउनूपर्ने नियम बनाइएको छ । बिना कार्ड कसैलाई पालिकाले सेवा दिने छैन् ।

‘सरसफाइ कार्ड वडाले घर घरमा अनुगमन गरी सरसफाइको स्थिति बुझेर बनाइदिने छ । बेला बेला सरसफाइबारे छड्के अनुगमन गरिने छ’, अध्यक्ष थापाले भने ।

पालिकाले एक घर, एक बायोसेन्ट फिल्टरको प्रबन्ध मिलाएको छ । सफा खानेपानीको प्रयोग गर्ने हेतुले यो कार्यक्रम लागू गरिएको हो । त्यसका लागि पालिकाले एक करोड रकम विनियोजन गरेको छ । बायोसेन्ट खरिदमा व्यक्ति र पालिकाले ५०/५० प्रतिशत व्यहोर्नुपर्नेछ ।

‘पूर्ण सरसफाइ नहुँदा अनेक रोग लाग्ने गर्छ । रोगी शरीरबाट कुनै पनि काम गर्न सकिदैन् । जति सुकै स्वास्थ्य संस्था सन्चालन गरेपनि जनता रोगी भए भने विकासको अर्थ रहदैन् । यही सोचेर सरसफाइ क्षेत्र प्राथमिकतामा राखेका हौं,’ अध्यक्ष थापा भन्छन् ।

पालिका अधिकांश स्थानमा सडकमा बिस्कुल सुकाउने, पशु चौपाया सडकमा बाँध्ने, नालीमा फोहोर फाल्ने गरिएको छ । अब यी स्थानमा जथाभावी गर्नेलाई पालिकाले दण्डित गर्ने छ ।

वि.सं. २०६८ को जनगणना अनुसार पालिकामा ३६ हजार ९३७ जनसंख्या छ । यी सबै नागरिकलाई सरसफाइमा दक्ष बनाउने सोचमा पालिका छ ।

‘अबको ५ बर्षमा पालिकालाई सरसफाइको क्षेत्रमा नमूना बनाउँछौं उनले भने, ‘जसले अटेरी गर्छ त्यसमाथि कारबाही गर्छौ ।’ सरसफाइका लागि पालिकाले आवश्यक कार्यविधि बनाएर काम थालिरहेको छ ।

प्रकाशित मिति : २० माघ २०७९ शुक्रबार ००:००  ७ : ४९ बजे