१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

६ दशक पछि सडक कालोपत्रे, विजयनगर गाउँपालिकाको मुहारै फेरियो



मायादेवी अनलाइन, चारनम्बर ।
६ दशक पछि कपिलवस्तुको कृष्णनगर खुरहुरिया हुँदै प्यूठान जोड्ने लक्ष्य रहेको १६ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ ।

संघीय र प्रदेश सरकारको १८ करोड ठेक्का सभ्झौतामा मोतीदान पिटिआर जेभी र अर्घाखाँची बावुल जेभीले कपिलवस्तुको कृष्णनगर देखि खुरहुरिया हुँदै शिवपुर महेन्द्र राजमार्ग जोडिने सडक कालोपत्रे भएसँगै स्थानीयबासिन्दा हर्षित बनेका छन् ।

२०१३ सालमा तत्कालीन राजा महेन्द्रले सुरु गरेको कपिलवस्तुको कृष्णनगर, खुरहुरिया हुंदै प्यूठान जोड्ने सडकको यस खण्ड लामो समयदेखि कालोपत्रे नहुँदा विगतमा निकै सास्ती पाए पनि कालोपत्रे भएसँगै यतिवेला सजिलो भएको स्थानीयबासिन्दा डिलाराम पान्डे बताउँछन् ।

संघीय र प्रदेश सरकारको आर्थिक सहयोगमा सडक बनेपछि सिँगो विजयनगर गाउँपालिकाको मुहारै फेरिएको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको धारणा छ । कतिपय राजनितिक दलका उम्मेदवारले भने विगतमा चुनावै पिच्छे सडक कालोपत्रे गरिदिने आश्वासन बाड्ने गर्दथे ।

सडक कालोपत्रे भएसँगै स्थानीयको जिवनस्तरमा परिवर्तन आएको मात्र छोइन पूर्वपश्चिम राजमार्गमा हुने सडक जामका बेला बैकल्पिक मार्गका रुपमा समेत प्रयोगमा आएको स्थानीयबासिन्दा बताउँछन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७ शनिबार ००:००  ८ : ३७ बजे