१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

जथाभाबी फोहर फाल्नेलाई कारबाही



बाँके ।
बाँकेको कोहलपुरलाई स्वच्छ र सफा राख्ने अभियान अन्तर्गत जथाभाबी फोहर फाल्नेलाई पक्राउ गरी जरिवाना गर्न सुरु गरिएको छ । सुरुवाती चरणमा सम्झाई बुझाई छोडिए पनि अटेर गर्ने प्रवृत्ति देखिएपछि नगर प्रहरीले नगद जरिवाना गर्न थालेको नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

“यो नगर हामी सबैको हो, नगर सफा र सुन्दर बनाउने जिम्मेवारी पनि हामी सबैको हो” नगर प्रमुख आचार्यले भन्नुभयो, “हामी कसैलाई पनि जरिवाना तिराउन नपरोस् र पुरस्कृत गर्नुपरोस् भन्ने चाहना रहेको छ । कोहलपुर नगरलाई सुन्दर बनाउने जिम्मेवारी सम्पूर्ण नगरवासीको रहेको भन्दै उहाँले महिनौँदेखि बारम्बार विनम्रतापुर्बक अनुरोध गर्दा समेत अटेर गर्ने प्रवृत्ति बढे कारबाही गर्न थालिएको बताउनुभयो ।

जथाभाबी फोहर फाल्ने व्यक्ति, सङ्घ संस्था, व्यावसायिक फर्म, सबैलाई कारबाहीको दायरामा ल्याइने उहाँको भनाइ छ । केही दिनअघि स्कुटरमा राखेर फोहर सडक छेउमा फाल्ने प्रवृत्ति बढेको भन्दै नगर प्रहरीले निगरानी गर्दैआएको छ । केही व्यक्तिलाई पक्राउ गरी जरिवाना पनि तिराएको छ ।

नगरपालिकाले सार्वजनिक स्थानमा फोहर फाल्न सूचना प्रकाशन गरी निषेध गरेको छ । लुम्बिनीसहित सुदूरपश्चिम र कर्णाली प्रदेशको प्रवेशद्वारको रूपमा कोहलपुर क्षेत्रलाई सुन्दर, सफा र रमणीय बनाउन नगरबासीको साथ र सहयोग चाहिएको भन्दै नगर प्रमुख आचार्यले सार्वजनिक स्थानमा जथाभाबी फोहर गर्ने कामलाई निरुत्साहित गर्न जरुरी भएको बताउनुभयो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९ शनिबार ००:००  ७ : ३० बजे