१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नेपालद्धारा नामिबियालाई ३ विकेटले पराजित



काठमाडौँ ।
आसिफ शेख र ज्ञानेन्द्र मल्लको अर्धशतकमा नेपालले विश्वकप लिग २ मा नामिबियालाई ३ विकेटले पराजित गरेको छ । यी दुईले दोस्रो विकेटमा कीर्तिमानी १ सय ३९ रनको साझेदारी गरेपछि नेपालले २ सय ७५ रनको लक्ष्य १५ बल अगाडि पूरा गर्‍यो ।

नेपालले लिग २ को एउटा शृंखलामा तीन खेल जितेको यो पहिलो अवसर हो । २०२० मा काठमाडौंमा भएको ओमान र अमेरिका सम्मिलित शृंखला, २०२१ मा मस्कटमा ओमान, अमेरिका सम्मिलित शृंखला र २०२२ मा दुबई भ्रमणमा यूएई र पपुवा न्यु गिनी शृंखलामा नेपालले यसअघि २–२ खेल जितेको थियो ।

लगातार तेस्रो विजयले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने आशालाई कायमै राखेको छ । नेपाल २७ खेलमा २४ अंकसहित सात राष्ट्र सम्मिलित लिग २ को अंक तालिकामा छैटौं स्थानमा छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई कायम राख्न नेपालले बाँकी रहेको ९ मध्येको ६ खेल जित्नु पर्नेछ ।

लगातार तेस्रो खेलमा पराजित नामिबिया ३३ खेलमा ३७ अंकसहित तेस्रो स्थानमा छ । लिग २ को शीर्ष तीन टोली विश्वकप छनोटमा पुग्ने छन् भने शीर्ष ५ टोलीले एकदिवसीय मान्यतालाई कायम राख्ने छ । नेपालले पहिलो दुई खेलमा नामिबियालाई २ विकेटले र स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो ।

कुशल भुर्तेल १ रनमै आउट भएपछि आसिफ र ज्ञानेन्द्र खेलमा हाबी भएका थिए । ज्ञानेन्द्रको यो सातौं र आसिफको छैटौं अर्धशतक हो । ज्ञानेन्द्रले नेपालबाट एकदिवसीयमा सर्वाधिक अर्धशतक बनाउने खेलाडी बनेका छन् ।

ज्ञानेन्द्र ६५ रनमा आउट भए । उनले ७४ बल खेल खेल्दै ५चौका र ३ छक्का प्रहार गरे । ज्ञानेन्द्र र आसिफको साझेदारी नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो साझेदारी हो । कुशल भुर्तेल र रोहित पौडेलले मंगलबार नामिबियाविरुद्धको खेलमा तेस्रो विकेटका लागि १ सय ३३ रनको साझेदारी गरेका थिए । आसिफ ८१ रन बनाई आउट भए । उनले ९८ बल खेली ८ चौका र २ छक्का प्रहार गरे ।

कुशल मल्ल नेपाली इनिङ्समा अर्धशतक बनाउने तेस्रो खेलाडी थिए । उनको लगातार दोस्रो अर्धशतक बनाए । कुशलले ४९ बलमा ६ चौका र ४ छक्का प्रहार गरि ६२ रन बनाए । कुशलले कप्तान रोहित पौडेलसँग चौथो विकेटमा ९२ रन जोडे । रोहित ४३ बलमा ५ चौका प्रहार गर्दै ३९, दीपेन्द्रसिंह ऐरी १ र सन्दीप जोरा ३ रनमा आउट भए । विजयी चौका प्रहार गरेका सोमपाल कामी ८ रन बनाई अविजित रहे । नामिबियाबाट रुबेन ट्रम्पलमेनले ३ र बर्नान्ड स्कोल्ट्जले २ विकेट लिए ।

यसअघि नेपालले लगातार तेस्रो पटक टस जितेपछि ब्याटिङको निम्ता पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाई २ सय ७४ रन बनाएको थियो ।

जेन ग्रिनले अविजित अर्धशतक बनाएपछि नामिबियाले प्रतिस्पर्धात्मक स्कोर बनाएको हो । उनले कुल ६३ बल खेल्दै ११ चौका र २ छक्का प्रहार गर्दै अविजित ७५ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको उच्च स्कोर हो । उनले पिकी या फ्रान्ससँग छैटौ विकेटमा ९४ रनको साझेदारी गरे । फ्रान्सले ३९ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे ।

रुबेन ट्रम्पलमेन ७ बलमा २४ रन बनाई अविजित रहे । उनले ३ चौका र २ छक्का प्रहार गरे । उनले अन्तिम ओभरमा करण केसीलाई ४ चौका र १ छक्कासहित २५ रन बनाए, जसमा ३ अतिरिक्त रन थियो ।

ओपनर लो हन्ड्रे लवरेन्सले ४१ रन बनाए । उनले ५४ बल खेली ८ चौका प्रहार गरे । कार्ल बिर्केनस्टोकले २० र माइकल भान लिङगेनले २२ रन बनाए । कप्तान गेहराड इरास्मस र जान निकोल इटेन समान १५ रनमा आउट भए । नेपालबाट सन्दीप लामिछानेले ३ र करण केसीले १ विकेट लिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९ शनिबार ००:००  ५ : ०६ बजे