७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मल किन्न थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित



काठमाडौं ।
अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल किन्न थप सात अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल किन्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो ।

स्रोत सुनिश्चितमध्ये दुई अर्ब ४० करोड रुपैयाँ कृषि मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ भने दुई अर्ब ५० करोड रुपैयाँ आउँदो आर्थिक वर्षको सिलिङमा समावेश गरिनेछ । दुई अर्ब ६० करोड रुपैयाँ दायित्व सिर्जना भएपछि निकासा गरिनेछ ।

रासायनिक मल किन्न चालु आर्थिक वर्षका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । रासायनिक मल किन्न अर्थ मन्त्रालयले थप १६ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो । कृषि मन्त्रालयको मागअनुसार पुनस् थप स्रोतको व्यवस्था गरिएको हो ।

रासायनिक मल खरिद र आपूर्ति व्यवस्था सहज गर्ने सम्बन्धी उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले पाँच दिनअघि कृषि मन्त्री ज्वालाकुमारी साह, कृषि विकास सचिव गोविन्दप्रसाद शर्मा लगायतसँग छलफल गर्नुभएको थियो । अर्थ मन्त्री पौडेलले रासायनिक मल किन्न स्रोतको समस्या नहुने बताउँदै अविलम्ब आवश्यक प्रक्रिया सुरु गर्न आग्रह गर्नुभएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९ सोमबार ००:००  ७ : ३८ बजे