७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

बाणगंगाका उद्योगी व्यवसायीसंग हात्तीपाईले रोग विरुद्धको आम औषधि सेवनबारे अन्तरक्रिया



मायादेवी अनलाइन, बाणगंगा ।
हात्तीपाईले रोग विरुद्धको आम औषधि सेवन अभियान आगामी फागुन ११ गतेदेखि सुरु हुँदैछ । उक्त अभियान २५ गतेसम्म चल्ने छ । सोही अभियान अन्तर्गत बाणगंगा नगरपालिकाले कपिलवस्तु उद्योग बाणिज्य संघसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । उक्त कार्यक्रम सोमबार संघको सभाहल चारनम्बरमा गरिएको हो ।

बाणगंगा नगरपालिकामा उक्त अभियानका लागि ६० जना स्वास्थ्यकर्मी र ११२ जना स्वास्थ्य स्वयंसेविका खटिने बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए ।

नगर प्रमुख चक्रपाणी अर्यालको संयोजकत्वमा अभियान संचालन हुने उनले जानकारी दिए । ७२ हजारलाई हात्तिपाईले विरुद्धको औषधी खुवाउने लक्ष्य रहेको उनले बताए ।

बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले विगत १४ बर्षदेखि औषधि खादा पनि कपिलवस्तु हात्तीपाईले रोग मुक्त जिल्ला नहुनु आफैमा लज्जास्पद विषय भएको बताए । उनले यो पटक जसरी भए पनि जिल्लालाई यस अभियानमा सफल बनाउन आवश्यक रहेको बताए ।

कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले हात्तीपाईले रोग विरुद्धको औषधिप्रति सर्वसाधारणमा रहेको नकारात्मक मानसिकतालाई परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले हात्तीपाईले रोग विरुद्धको १५ औं पटकको यस अभियानलाई सफल बनाउन कपिलवस्तु उद्योग बाणिज्य संघ प्रतिवद्ध रहेको बताए ।

उनले अन्य सरोकारवाला निकायलाई समेत यस अभियनालाई सफल बनाउन आह्वान समेत गरे । कपिलवस्तु उद्योग बाणिज्य सघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले यस अभियानको महत्व सकारात्मक तवरबाट बुझाउन सके मात्र अभियान सफल हुने बताए ।

कार्यक्रममा सहभागि उद्योगी व्यवसायीले हात्तिपाईले रोग विरुद्धको आम औषधी सेवन अभियानलाई सफल बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा हात्तिपाईले रोगसंगै समग्र कपिलवस्तु जिल्लाका १० पालिकामा यसको अवस्थाको बारेमा चर्चा गरिएको थियो ।

जिल्लामा रहेका १० पालिकाका ६ लाख ४२ हजार जनसंख्यालाई हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९ मंगलबार ००:००  ६ : २४ बजे