१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

७० जना सुत्केरी महिलालाई झुल वितरण



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणंगगा नगरपालिका वडा नम्बर २ ले सुत्केरी महिलालाई झुल वितरण गरेको छ । सोमबार पिपरास्थित वडा कार्यालयमा एक कार्यक्रम आयोजना गरी वडाले ७० जना सुत्केरी महिलालाई झुल वितरण गरेको हो ।

बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले झुलको प्रयोगले डेंगु, हात्तीपाइले, औंलो जस्ता विभिन्न संक्रामक रोगबाट बच्न सकिने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर अर्यालले सुत्केरी अवस्थामा आमा र शिशु दुवैको अवस्था नाजुक हुने भएकाले यस्तो अवस्थामा झुलको उपयोग अनिवार्य गर्न आग्रह गरे ।

सुत्केरी आमा र शिशुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखि वडाले झुल वितरण गर्नु उदाहरणीय काम भएको भन्दै उनले खुशी व्यक्त गरे ।

नगरपालिका सम्पुर्ण नगरवासीको स्वास्थ्यप्रति संवेदनशिल रहेको र सोही अनुरुप विभिन्न कार्यक्रम संचालन गर्दै जाने उनले प्रतिवद्धता जनाए । वडाध्यक्ष विष्णु प्रसाद पौडेलले आर्थिक बर्ष २०७९/८० को वडा स्तरिय महिला लक्षित कार्यक्रम अन्तर्गत सुत्केरी महिलालाई झुल वितरण गरिएको बताए ।

सुत्केरी महिला र शिशुमा अन्य व्यक्तिमा भन्दा रोगसंग लड्ने सक्ने क्षमता न्यून हुने भएकाले सोही अवस्थालाई ध्यानमा राखि झुुल बितरण गरिएको उनको भनाई छ ।

वडाध्यक्ष पौडेलले झुल वितरण गर्नु कसैलाई सामान्य विषय लागे पनि यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने दाबी गरे । वडावासीको स्वास्थ्य प्रति वडा अत्यन्त संवेदनशील रहेको बताउँदै उनले भने, ‘पहिलो कार्यकालमा पनि गर्भवती, सुत्केरी, शिशु, वृद्धवृद्धाहरुको स्वास्थ्यको क्षेत्रमा काम गरेका थियौं । अब पनि थप योजनासहित अघि बढ्ने छौ ।’

कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष छवि रेश्मी मगर र वडा नम्बर ५ का पूर्व वडाध्यक्ष भिष्मराज भुसालले सुत्केरी आमा र शिशुलाई यो अवस्थामा स्वास्थ्यका दृष्टिकोणलाई राम्रो हेरचाह आवश्यक पर्ने बताउँदै त्यसप्रति वडाले चासो देखाएर झुल वितरण गर्नु सराहनीय कार्य भएको बताएका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९ मंगलबार ००:००  ६ : ३० बजे