१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाणगंगामा चितुवाको आतङ्क बढ्यो, पार्क भित्र पालेर राखेको ‘घोरल’ खायो



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा चितुवाको आतङ्क बढ्न थालेको छ । मनकामना सामुदायिक वन बाणगंगा- २ नन्दनगरले पालेर राखेको घोरल आइतबार राति चितुवाले खाएको छ ।

पार्क भित्र वनले पालेर राखेको घोरल चितुवाले खाएको सामुदायिक वनका अध्यक्ष मुक्त बहादुर कार्कीले जानकारी दिए ।
वनले अन्यत्रबाट घोरल ल्याएको पालेको थियो ।

वनमा हरिन, जरायो, अजिंगर लगायतका बन्यजस्तु छन् । पार्क बनाएर वनले ती बन्यजन्तुको संरक्षण गर्दै आएको छ ।
सोमबार मध्य रातमा पुनः चितुवा पार्क नजिक आएको वनका चौकीदारले देखेको अध्यक्ष कार्कीले बताए ।

वनमा चितुवा देखिन थालेकाले सुरक्षित रहन उनले सर्वसाधारणलाई आग्रह गरेका छन् । पछिल्लो समय वनमा बन्यजन्तुको संख्या बढ्न थालेको छ ।

विगत केही बर्ष यता देशका विभिन्न जिल्लामा चितुवाको आक्रमणबाट मानिसहरुको ज्यान गइरहेको छ । छिमेकी जिल्ला अर्घाखाँचीमा झण्डै एक दर्जन बालबालिकाको चितुवाको आक्रमणबाट ज्यान गएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९ मंगलबार ००:००  ९ : ०५ बजे