१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

अर्घाखाँची अस्पतालमा बिरामीको चाप बढ्दो



काठमाडौँ ।
अर्घाखाँची जिल्ला सदरमुकामस्थित अस्पतालमा बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । केही समयपहिला सरकारी तथा सामुदायिक अस्पतालमा उपचार गराउनुको साटो निजी स्वास्थ्य संस्थामा उपचार गराउनेहरू पनि अहिले जिल्ला अस्पतालमै उपचार गराउन पुग्ने गरेका छन् ।

दैनिक एक सयदेखि एक सय ५० जनासम्म ओपिडीमा उपचारका लागि आउने गरेकामा अहिले बढेर दैनिक तीन सयभन्दा बढी पुगेको अस्पतालका प्रमुख चिकित्सक जगन्नाथ तिवारीले बताए । बालबालिका, ज्येष्ठ नागरिक, मौसमी रुघाखोकी तथा दीर्घ रोगका बिरामी उपचारका लागि आउने गरेका छन् । ओपिडीमा मात्र नभएर इमर्जेन्सीका बिरामी पनि बढेका छन् । अस्पतालमा भर्ना भएर उपचार गराउनेकोे सङ्ख्या पनि बढेको छ ।

केही समयपहिलादेखि बन्द रहेको सस्एस सेवा अर्थात् शल्यक्रिया विधिबाट प्रसूति गराएर बच्चा निकाल्ने सेवा पनि नियमित भएको छ । अस्पतालमा प्रमुखको जिम्मेवारी सम्हालेर चिकित्सक जगन्नाथ तिवारी आएपछि यो सेवा सुरु भएको हो ।

जटिल प्रकृतिका प्रसूतिलाई शल्यक्रियाका लागि बुटबल जानुपर्ने बाध्यता हटेको छ । शल्यक्रियाकै लागि बुटबल जानुपर्ने बाध्यता हटेपछि स्थानीयवासी पनि खुसी भएका छन् । दुई एमडिजिपी, एक विशेषज्ञ र पाँच मेडिकल अफिसरबाट सेवा पुनः सञ्चालन गरिरहेको अस्पतालका प्रमुख चिकित्सक तिवारीको भनाइ थियो ।

अत्याधुनिक उपकरणबाट अधिकांश रोगको जाँच गरिने ल्याब सेवा सञ्चालन गरिएको छ । थाइराइड, फङ्गसन टेस्टदेखि लिएर सबै प्रकारका बायोकेमेस्टिक टेस्ट, डिजिटल एक्स–रे, डप्लर अल्ट्रासाउन्ड सेवा, फिजियोथेरापी सेवालगायत सेवा नियमित सञ्चालन भएका छन् ।

दैनिक ५०/६० वटासम्म अल्ट्रासाउन्ड हुने गरेको छ । अन्य सामान्य शल्यक्रियालगायत हाइड्रोसिल, हर्नियालगायत रोगको शल्यक्रिया पनि सोही अस्पतालमा हुने गरेको छ । सिएस सेवा सञ्चालन गर्दा जिल्लामा ब्लड बैंक नभएर समस्या हुने तर शल्यक्रिया गर्नुभन्दा पहिला ब्लड दिने व्यक्तिलाई राखेर शल्यक्रिया गरिरहेको अस्पतालका प्रमुख चिकित्सक तिवारीले जानकारी दिए । अहिलेको सङ्ख्याभन्दा पनि बिरामीको चाप बढ्न सक्नेछ । गर्मी याम सुरु भएकाले बिरामीको चाप थप बढ्न सक्ने अनुमान चिकित्सक तिवारीको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९ मंगलबार ००:००  २ : ११ बजे