१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाणगंगामा राष्ट्रिय कवि गोष्ठी तथा श्रष्टा सम्मान कार्यक्रम



मायादेवी अनलाइन, बाणगंगा ।
दधि–स्मृति साहित्य समाज कपिलवस्तु नेपालको आयोजनामा राष्ट्रिय कवि गोष्ठी, रचना वाचन, कृति विमोचन तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कला, साहित्य हाम्रो स्वाभिमान, संस्कृति जगेर्ना हाम्रो अभियान भन्ने मुल नारालाई आत्मसात गर्दै मंगलबार बाणगंगा नगरपालिका १ जितपुरमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा गजलकार शिरोमणी बुँद रानाले विभिन्न शिर्षकमा गजल प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नव साहित्यनुरागीलाई हौसला दिदैं गलजकार रानाले भन्नुभयो, ‘हामी सबै सक्षम छौँ, हामी भित्र साहित्यको रश्मी रहेकाले त्यसलाई उजागर गर्नुपर्छ ।’

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले साहित्य, संगीत र कला एक अर्काका पर्याय हुन् भन्ने कुरा कसैले भुल्नु नहुने बताउनुभयो । आफूले साहित्यिक संस्थालाई गर्नुपर्ने सबै सहयोग गर्न तत्पर रहेको र नेपाली साहित्यको जगेर्ना सबैले गर्नुपर्ने बताउनुभयो ।

बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्र अर्याल, वरिष्ठ साहित्यकार देवी पन्थी, गिरिराज डल्लाकोटी, संस्कृतिविद राजेन्द्रकुमार आचार्य लगायतले साहित्यमा छन्द आवश्यक रहने हुनाले श्रष्टाहरुले आफ्ना सिर्जनामा छन्दलाई विशेष जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पवन अधिकारीको कविता सङ्ग्रह अन्यायका आँसुहरुको बिमोचन भएको थियो । सो कृतिमाथि साहित्यकार राजेन्द्रप्रसाद आचार्यले समिक्षा गर्नुभयो ।

नेपाली साहित्यको श्रीवृद्धिमा लाग्नुभएका देशभरिबाट छन्दनायक माधव वियोगी, डा. देवी पन्थी, राजेन्द्रकुमार आचार्य, पार्वती शर्मा निशा, मोहन ज्ञवाली, दिलिप कार्की, आँसुतोश कँडेल लगायतका श्रस्टाहरुलाई सम्मानित गरिएको थियो ।

यस्तै कार्यक्रममा पशुपतिमणि त्रिपाठी, वासुदेव जमरकट्टेल, छन्दिका घिमिरे, बाणगंगा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण पाण्डे बुद्धिसागर बेल्बासे, पुनाराम गिरी, बालश्रष्टा जोशिका कँडेल, पवन अधिकारी, कविता अधिकारी, लगायत ३ दर्जन बढी साहित्यकारहरुले आ आफ्ना रचना वाचन गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षता, सचिव सुशील अर्यालको स्वागत मन्तव्य रहेको कार्यक्रम उपाध्यक्ष दुर्गाप्रसाद अधिकारीको संचालनमा सम्पन्न भएको थियो।

प्रकाशित मिति : १० फाल्गुन २०७९ बुधबार ००:००  ७ : ३९ बजे