१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

‘देशको राजनीतिक प्रणाली, शासकीय स्वरूपमा पुनर्विचार आवश्यक छ’



बुटवल ।
पूर्व उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले देशमा अवलम्बन भएको राजनीतिक प्रणाली, शासकीय स्वरूप र राष्ट्रिय संरचनाको विषयमा पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै थापाले २०६३ सालको जनआन्दोलन र त्यसपछि भएका हरेक गतिविधिले देशमा शान्ति एवं समृद्धिको अनुभव नभएकोले पुनर्विचार र विकल्पको बारेमा बहस गर्नुपर्ने बताएका हुन् ।

उनले राजतन्त्र फाल्नको लागि भएको आन्दोलन १८ वर्ष पुग्दा समेत जनताले अमन चयन शान्ति र समृद्धि नपाएको बताउँदै अहिले देशमा भइरहेको राजनीतिक प्रणाली, शासकीय स्वरूप र राष्ट्रिय संरचनाको विषयमा पुनर्विचार गर्नुपर्ने उनको भनाई छ ।

उनले निर्वाचन हुनुभन्दा पहिलाको गठबन्धनलाई जनताले म्यान्डेट दिएको भए पनि त्यो गठबन्धन चुनाव लगत्तै भत्किएर सत्ता स्वार्थमा नयाँ गठबन्धन बनेको बताउँदै देशमा फोहरी राजनीतिक खेल चलेको बताए । उनले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन पनि अस्वाभाविक र अपवित्र भएको बताउँदै नेकपा एमाले नेतृत्वको गठबन्धनमा दुई तर्फ बिचार फर्केका दलहरू भएकोले यो गठबन्धन पनि अस्वाभाविक र अपवित्र नै रहेको ठोकुवा गरे ।

अध्यक्ष थापाले देशको अर्थतन्त्र निकै कमजोर बन्दै गइरहेको, तरलता अभाव तथा महँगी दैनिक बढे पनि सरकार सत्ता टिकाउनमा व्यस्त रहेको बताउँदै उनले देश अहिले रेमिटेन्सको भरमा मात्रै चलेको बताए । पूर्व उपप्रधानमन्त्री थापाले अबको राष्ट्रपति हुने व्यक्तिले राजनीतिक स्वार्थ अनुसारका कामहरू गर्न नहुने बताउँदै राष्ट्रपतिले स्वार्थ देखाएकोले दलहरूबीचमा खिचातानी बढेको बताए ।

देशमा विदेशी चलखेल बढ्नुमा दलहरू स्वयम दोषी भएको बताउँदै अध्यक्ष थापाले मुलुकको स्वाभिमानमा सचेत रहन दलहरूलाई सुझाव दिए ।

राजतन्त्र पुनर्स्थापनाको विषयमा पत्रकारको जिज्ञासाबारे बोल्दै अध्यक्ष थापाले अहिले राजतन्त्र र राजनीतिक दलहरूका बिचमा आशङ्का र अविश्वासको खाडल रहेको बताए । उनले प्रजातन्त्र दिवसका दिनमा पूर्वराजले दिएको सन्देशमा राजनीतिक दलहरूसँग समन्वय गर्ने भने पनि यसको लागि निकै ढिलो भएको बताए । उनले राजाले दिएको अभिव्यक्ति दोहोरो प्रकृतिको देखिएको बताउँदै दलहरूसँगको सहकार्य सकारात्मक रहेको र मौन बस्दिन भन्ने कुराले द्वन्द्व सिर्जना गर्नेतर्फ सङ्केत गरेको बताए ।

दुर्गा प्रसाईँ राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा हिँडेको प्रश्नमा बोल्दै थापाले हिन्दु राष्ट्रको पक्षमा आफूहरू पनि रहेको बताउँदै हिन्दु राष्ट्रको विषयमा आवाज उठाउने व्यक्तिलाई नैतिक समर्थन गर्ने दाबी गरे ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९ बिहिबार ००:००  ६ : ३९ बजे