७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

चुनढुंगा उत्खनन एक महिनादेखि ठप्प



पाल्पा ।
स्थानीयको अवरोधले पाल्पाको निस्दी गाउँपालिका ७, भुटुकेस्थित चुनढुंगा खानी उत्खनन र ओसारपसार एक महिनादेखि ठप्प छ । ज्यामिरे ६ हजार बतासाका स्थानीयले ५१ घरपरिवारको बस्ती ‘पुनर्वास’ को एकसूत्रीय माग राखेर आन्दोलनमा उत्रिएपछि चुनढुंगा उत्खनन र ओसारपसार रोकिएको हो ।

यहाँ नवलपरासी पूर्वको विनयीत्रिवेणी गाउँपालिका सर्दीस्थित होङसी सिमेन्टको चुनढुंगा खानी छ ।ज्यामिरेको छ हजार बतासाका बासिन्दाले एकसूत्रीय ‘पुनर्वास’ को माग राखेर आन्दोलनमा उत्रिएपछि चुनढुंगा उत्खनन र ओसारपसार नभएको वडाध्यक्ष मुक्तबहादुर पाटाले बताए । ‘हामीले दुवै पक्षसँग मागका सम्बन्धमा बुझ्ने प्रयास गरेका हौं,’ उनले भने, ‘वातावरणीय अध्ययन प्रतिवेदनले भनेका काम भएको छ वा छैन भन्ने ढंगले मात्रै कुरा भएको छ ।’

स्थानीयको मागमा चुनढुंगा ओसारपसार गर्ने सडकछेउमा पर्ने अधमारा, मठेखर्क, सेरो, क्षेत्रीखर्क, रोल्लाबास, तीनघरेलगायत गाउँका बासिन्दाले पनि साथ दिएका छन् । यहाँका झन्डै ७० घरपरिवार पनि प्रभावित छन् ।

ज्यामिरे छहजार बतासा टोल विकास समितिका अध्यक्ष रामबहादुर विकका अनुसार होङसीको उत्खनन, सुरुङमार्ग खनिनु र ओसारपसारमा भएको लापरबाहीका कारण गाउँमा बस्न सक्ने अवस्था नभएकाले आन्दोलनमा उत्रिनु परेको हो । ‘बस्तीको मुनिबाट चुनढुंगा लैजान सुरुङ खनिएको छ,’ उनले भने, ‘जसले गर्दा खानेपानीका मुहान सुकेका छन् । सिंचाइ कुलो पनि सुकिसकेको छ ।’

होङ्सी सिमेन्ट उद्योगले चुनढुंगा ओसारपसारका लागि भुटुकेदेखि अधमारा सुरुङ खनेको छ । यस्तै अरुणखोला नजिक सिमलेबाट विनयीत्रिवेणीको हर्वलेका लागि समेत सुरुङ खन्ने कार्य चलिरहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९ बिहिबार ००:००  ६ : ०२ बजे