२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

समाजवादी निकट अनेरास्ववियूले भन्योः एमालेको विद्यार्थी संगठनसँग सहकार्य हुँदैन



काठमाडौँ।
नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले आसन्न स्ववियु निर्वाचनमा आवश्यकताका आधारमा तालमेल गर्ने भएको छ।

त्यसका लागि स्थानीय क्याम्पस कमिटीले आवश्यक सुझाव केन्द्रलाई दिनेछ। तर, अनेरास्ववियूले नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुसँग भने तालमेल नगर्ने भएको छ। अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले तत्कालको परस्थितिमा अनेरास्ववियुसँग कुनै प्रकारको तालमेल हुन नसक्ने बताए।

‘वितगमा गरेको गल्तीमा आत्मआलोचना गर्दै उनीहरू अगाडि आएको खण्डमा मात्र तालमेल वा सहकार्य गर्न सकिन्छ। नत्र संविधानका विरूद्दमा लागेर संसद् विघटन गर्नेहरूसँग सहकार्य हुदैन ।’ अध्यक्ष पराजुलीले भने। अनेरास्ववियूले नेविसंघ र अखिल क्रान्तिकारी लगायतका संगठनहरूसँग भने तालमेल गरेर अगाडि बढ्न सकिने जनाएको छ।

उनीहरूसँग विगतदेखि नै विभिन्न मुद्दा र समस्यामा सहकार्य हुँदै आएको भन्दै अध्यक्ष पराजुलीले स्ववियु निर्वाचनमा पनि सोही अगाडि बढिने बताए।

त्रिभुवन विश्वविद्यालयले चैत ५ गतेलाई स्ववियु निर्वाचनको मिति तोकको छ । त्यस्तै मध्यपश्चिम विश्वविद्यालयले चैत ३ गते र सुदूरपश्चिम विश्वविद्यालयले चैत ८ गतेलाई स्ववियु निर्वाचनको मिति तोकेका छन्।

प्रकाशित मिति : ११ फाल्गुन २०७९ बिहिबार ००:००  ९ : २७ बजे