६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

रुकुमपूर्व अस्पतालमा विजोगः चिकित्सकदेखि पानीसम्म अभाव



रुकुमपूर्व ।
पाँच वर्ष पहिला सुरु भएको रुकुमपूर्व जिल्ला अस्पतालमा चिकित्सक, औषधि, शय्या (बेड) र खानेपानीको समेत चरम अभाव छ । ५० शय्याको यस अस्पतालमा न त शय्याको मात्रा पूरा भएको छ, न औषधि नै पाइन्छ ।

यही कारण विकट गाउँबाट उपचारका लागि जिल्ला अस्पताल आएका बिरामीहरू निजी संस्थामा जान बाध्य छन्। सरकारी अस्पतालमै सामान्य खालको औषधि पाउन छोडेपछि बिरामी समस्यामा परेका हुन्। पुथाउत्तरगङ्गा गाउँपालिकाको पेल्माबाट उपचारका लागि आएकी सुनिता नेपालीले अस्पतालमा औषधि नपाइएपछि निजी मेडिकलमा जानुपरेको बताउनुभयो।

बच्चालाई निमोनिया भएकाले अक्सिजन लगाउनका लागि चाहिने पल्स अक्सिमिटर र नेबुलाइजर मास्कसमेत नहुँदा निजी मेडिकलबाट किन्नुपरेको उहाँले गुनासो गर्नुभयो। उहाँ तीन दिन हिँडेर जिल्ला अस्पताल आउनुभएको हो।

निजी अस्पतालको उपचार महँगो भएकाले आफूजस्ता आर्थिक अवस्था कमजोर भएकाका लागि उपचार नै गर्न नपाई मर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ। सिस्ने गाउँपालिका–५ मा रहेको अस्पतालमा दैनिक ६० देखि ७० जना बिरामी आउने गरेको अस्पतालको तथ्याङ्कले देखाएको छ।

अस्पतालमा जाँच गराएर कागजपत्र हातमा थमाइदिएपछि औषधि किन्न निजी मेडिकलमा जानुपर्ने बाध्यता विगतदेखि नै रहेको स्थानीयको गुनासो छ।

अस्पतालका चिकित्सक पूर्णबहादुर पुनले अस्पतालमा लामो समयदेखि औषधि अभाव देखिएको बताउनुभयो। सरकारले ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भने पनि यस अस्पतालमा मुस्किलले ४०/४२ प्रकारको मात्र रहेको उहाँले जानकारी दिनुभयो।

प्रकाशित मिति : १२ फाल्गुन २०७९ शुक्रबार ००:००  ६ : ०४ बजे