१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

राष्ट्रपति निर्वाचनः निर्णायक वार्तामा दलहरु



काठमाडौं ।
राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयन दर्ताको समय नजिकिँदै गर्दा प्रमुख दलहरूको सक्रियता बढेको छ । कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी) बीच पुरानो गठबन्धन ब्युँताउने गरी छलफल भइरहेको छ । सहमतिका लागि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले छलफललाई तीव्र पारेका छन् ।

हिजो बिहीवार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र देउवासहित भएको छलफल सकारात्मक भएको बैठकपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभयो । उहाँका अनुसार आज शुक्रवार पनि छलफल गर्ने र सहमतिको खाका तयार पार्ने तयारी छ ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटअघि कांग्रेस सभापति देउवाले हिजो एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरू र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग राष्ट्रपतिको चुनाव तथा उम्मेदवारबारे छलफल गर्नुभएको थियो । राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएको माओवादीले कांग्रेसलाई सघाउने सङ्केत गरेको छ ।

गएको पुस १० गते भएको समझदारीअनुसार नै राष्ट्रपति पद आफूले पाउनुपर्ने अडान राख्दै आएको अहिलेको सत्ता साझेदार दल एमालेले लचक भएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेको छ । यसबारेमा हिजो प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राष्ट्रपति चुनावको विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच निरन्तर छलफल भइरहेको बताउनुभएको छ । उम्मेदवार कसलाई बनाउने, राष्ट्रिय सहमति कायम गर्ने विषयमा छलफल कसरी अघि बढाउने भन्ने सन्दर्भमा हिजो छलफल भए पनि निष्कर्ष नआएको उहाँले जानकारी दिनुभयो ।

यसैबीच एकीकृत समाजवादीले राष्ट्रपतिको विषयमा सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ । राष्ट्रपति चुनावका लागि हिजो निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरिसकेको छ भने पर्सि शनिवार मनोनयन दर्ता हुनेछ । आउँदो २५ गते राष्ट्रपति चयनका लागि मतदान हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल यही फागुन २८ गते सकिँदैछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९ शुक्रबार ००:००  ७ : १८ बजे