१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

सटही प्रक्रियामा लुम्बिनीमा जम्मा भएको विदेशी मुद्रा



भैरहवा ।
लुम्बिनीमा जम्मा भएको विदेशी मुद्राको सटही प्रक्रिया अघि बढेको छ । नेपाल राष्ट्र बैंकको परिवर्त्य मूल्यको सूचीमा नपरेका मुलुकका श्रद्धालुले लुम्बिनीमा भेटी तथा दानस्वरूप चढाएका नोट लामो समयदेखि सटही हुन सकेको थिएन ।

सटही हुन नसकेका मुद्रामा म्यानमारको ११ करोडभन्दा धेरै क्याट, भियत नामको ८ करोड ९९ लाख दोङ, इन्डोनेसियाको ३ करोड रुपैयाँ, कम्बोडियाको ६२ लाखभन्दा धेरै रिइल, लाओसको ३१ लाखभन्दा धेरै लाओसियन किप र श्रीलंकाको २२ लाखभन्दा बढी रुपियाँ छ ।

भुटान, मंगोलिया, बंगलादेश, पाकिस्तान, मेक्सिको, ओमन, अर्जेन्टिना, फिलिपिन्स, मकाउ, पेरु, अफगानिस्तान, इरान, न्युजिल्यान्ड, ब्राजिल, रसिया, युक्रेन, टर्की, पोल्यान्ड, बहराईन इजिप्ट, स्विडेन, मौरिसस, चिली, लेवनान, जोर्डन, ताइवानलगायत ३९ राष्ट्रका नोट सटही हुन सकेका छैनन् । यी नोट २०७२ सालयताको भएको र यी राष्ट्रका मुद्रा अमेरिकी डलरसँग परिवर्त्य गर्दा १ करोड १७ लाखभन्दा धेरै नेपाली रुपैयाँ हुन आउँछ ।

नेपाल राष्ट्र बैंक लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाका उपनिर्देशक जीवनप्रकाश पाण्डेले लुम्बिनीमा रहेका ती मुद्रा सटहीका लागि प्रक्रिया अघि बढाइएको बताए ।

उपयोगमा नहुँदा केही नोट गलेर धुजाधुजा भइसकेका छन् । ती नोटको सटही गर्न कोषले यसअघि नेपाल राष्ट्र बैंकसमक्ष पत्राचार गरेको भए पनि ठोस निर्णय हुन सकेको थिएन । ‘ती विदेशी नोट उपयोगमा ल्याउन नसक्नु लुम्बिनी विकास कोष र सरकारको कमजोरी नै हो,’ लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले भने, ‘अब भने बल्ल ती नोटलाई सटही प्रक्रियाका लागि नेपाल राष्ट्र बैंकको ठोस निर्णयसहित प्रक्रिया अघि बढेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९ शनिबार ००:००  ६ : २४ बजे