१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

प्यूठानमा भिडियो एक्सरे मेसिन अलपत्र



प्यूठान ।
प्यूठान जिल्ला अस्पतालमा रहेको भिडियो एक्सरे मेसिन अलपत्र परेको छ । आठ महिनाअघि बिग्रिएको मेसिन मर्मतसम्भारको अभावमा अलपत्र परेको हो । लामो समय मेसिन बिग्रेर थन्किएपछि सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । अहिले गाउँका स्वास्थ्यचौकीमा समेत भिडियो एक्सरे मेसिन राख्न थालिएको छ ।

‘डाक्टरले एक्सरे मेसिन बिग्रिएको छ भन्दै बिरामीलाई अन्यत्रै जान भन्छन्,’ प्यूठान नगरपालिका–१० सारीबाङकी सुमित्रा पराजुलीले भनिन्, ‘किन यस्तो बेवास्ता गरिएको होला ?’ अस्पताल प्रशासनले चासो नदिएकै कारण जिल्ला अस्पतालमा भिडियो एक्सरे मेसिन मर्मतसम्भार नभएको उनले आरोप लगाइन् । ‘यो सबै निजीमा बिरामी पठाउने चलखेल होला,’ उनले भनिन्, ‘नत्र आठ महिनासम्म पनि एउटा मेसिन अस्पतालले बनाउन सक्दैन र ?’

पहिले अस्पतालमा एक्सरे गर्न दैनिक ५० जनासम्म आउने गरेको अस्पतालको तथ्यांक छ । अस्पतालमा लामो समय भिडियो एक्सरे मेसिन बन्द हुँदा एकातर्फ बिरामीले निजी मेडिकल धाउनुपर्ने बाध्यता छ भने अर्कोतर्फ अस्पतालको आम्दानीसमेत गुमेको छ । भिडियो एक्सरे गरेबापत अस्पतालले प्रतिव्यक्ति ६ सय रुपैयाँ शुल्क लिने गरेको थियो ।

एक्सरे सेवा बन्द भएयता जिल्ला अस्पतालले मासिक ६ लाख रुपैयाँभन्दा बढी आन्तरिक आम्दानी गुमाएको छ । बितेको ८ महिनामा ४८ लाख बढी आम्दानी गुमेको जिल्ला अस्पताल प्यूठानका प्रमुख खिमप्रसाद पार्धेले बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९ शनिबार ००:००  ६ : ३१ बजे