१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

कांग्रेसले रामचन्द्रलाई राष्ट्रपतिको उम्मेदवार बनाउने, गठबन्धनले सघाउने



काठमाडौं ।
नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने सर्वसहमतिले निर्णय गरेको कांग्रेस नेता कृष्ण सिटौलाले जानकारी दिनुभयो ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने प्रस्ताव गर्नुभएको र सर्वसहमतिले निर्णय गरेको उहाँले बताउनुभयो । पौडेलले आजै नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गर्नुहुने छ । यसअघि हिजो बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति चुनावमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् ।

यसैबीच आठ दलका तर्फबाट राष्ट्रपतिका साझा उम्मेदवार कांग्रेस नेता पौडेलको उम्मेदवारीमा प्रस्तावक र समर्थकको टुङ्गो लगाउन दिउँसो १ बजे आठ दलको संयुक्त बैठक बोलाइएको कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिनुभयो ।

राष्ट्रपतिको उम्मेदवार बन्न पाँच सांसद प्रस्तावक र पाँच सांसद समर्थकको आवश्यकता हुन्छ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९ शनिबार ००:००  १२ : २५ बजे