६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

सडक बत्तीको लाइन काट्दै तौलिहवा प्राधिकरण



मायादेवी अनलाइन, तौलिहवा ।
सडक बत्ती व्यवस्थापनमा पालिकाहरु उदासिन देखिएको भन्दै नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रले कपिलवस्तुका ५ पालिकाको सडक बत्तीको लाइन काटने तयारी गरेको छ।

स्विच नराखी २४ घन्टा नै बत्ती बालिएकोले प्राधिकरणलाई दैनिक लाखौँ रुपैयाँ नोक्सानी भएको भन्दै प्राधिकरणले आफ्नो क्षेत्रमा पर्ने ५ पालिकाको सडक बत्तीको लाईन काटने तयारी गरेको हो।

कपिलवस्तु, बाणगंगा, बुद्धभूमि नगरपालिका तथा मायादेवी र यशोधरा गाउँपालिकाको सडक बत्ती काट्ने तयारी गरिएको प्राधिकरणका प्रमुख राजेश कुमार झाले बताए।

प्राधिकरणको लुम्बिनी प्रदेश प्रादेशिक कार्यालयले गत फागुन २ गते प्राधिकरणलाई स्विच बीना राखिएको सडक बत्ती झिक्न निर्देशन दिएको थियो। तर अनुगमनको क्रममा त्यसको पालना नभएको पाइए पछि प्रादेशिक कार्यालयले ७ दिन भित्र सडक बत्ती व्यवस्थापन गर्न निर्देशन दिएको प्राधिकरण प्रमुख झाले बताए।

नेपाल विद्युत प्राधिकरणले सडक बत्ती व्यवस्थापन गर्न विभिन्न नीतिहरु लिएको छ। बीना मिटर जडान गरिएको सडक बत्ती हटाउने र मिटन जडान गरी स्विचसहितको बत्ती बाल्ने प्रावधान बनाइएको छ। तर सम्बन्धित पालिकाले दिनु पर्ने र मिटर प्राधिकरणले निःशुल्क दिने व्यवस्था गरिएको झाले बताए।

पटक पटक अनुगन गरी पत्राचार गर्दा समेत सडक बत्तीको व्यवस्थापन नगरिएकाले अब आफूहरुले सडक बत्तीको लाइन काटने तयारी गरेको बताए। गत फागुन ४ गते नै सडक बत्ती व्यवस्थापन गर्न ५ पालिकालाई पत्राचार गरिएको झाले बताए। तर त्यसमा अहिलेसम्म कुनै प्रगति नभएकाले आफूहरु अब बाध्य भएर लाइने काटने उनले बताए। सडक बत्ती व्यवस्थापन नहुँदा सडक बत्तीको २ तिहाई पावर त्यत्तिकै खेर गइरहेको छ। १५ वाटको बत्तीले मासिक ७ दशलव २ युनिट बत्ती खपत गर्ने गर्छ। त्यस हिसाबले समेत एउटा बत्तीले मासिक ७३ रुपैयाँको विद्युत खपत गर्ने गर्छ। ५ पालिकामा कति सडक बत्ती छन भन्ने एकिन छैन। तर हजारौको संख्यामा सडक बत्ती भएकाले प्राधिकरणलाई लाखौँ रुपैयाँ घाटा लाग्ने गरेको छ।

उता प्राधिकरणको सडक बत्ती सम्बन्धी पत्र प्राप्त भए पछि आफूहरुलाई ध्यानाकर्षण भएको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले बताए। आफूरुहरु समेत सडक बत्ती व्यवस्थापनको पक्षमा रहेको उनले बताए। उनले अब चाडै नै नगर क्षेत्र भित्र सडक बत्ती व्यवस्थापनका लागि सेन्सर जडान गरिने बताए। सेन्सरले स्वचालित रुपमा आफै राति बत्ती बाल्ने र दिउँसो निभाउने गर्छ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९ सोमबार ००:००  ७ : २९ बजे