७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

बाणगंगाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि



मायादेवी अनलाइन, बाणगंगा ।
१३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीताको उपाधि बाणगंगा नगरपालिकाले जितेको छ ।

यही फाल्गुण १८ गते देखि बुद्धभूमि नगरपालिकाको खेल मैदानमा भएको प्रतियोगीतामा २६ स्वर्ण पदक, तीन रजत र ६ कास्य पदक जित्दै बाणगंगा जिल्ला प्रथम भएको हो । शनिबार प्रतियोगीताको समापन सत्रमा उपाधि जित्ने बाणगंगालाई रु. ५० हजार, शिल्ड, मेडल प्रदान गरिएको छ ।

बाणगंगाले यसभन्दा अगाडीका दुई प्रतियोगीतामा पनि उपाधि जितेको थियो । बाणगंगाले लगातार तीन पटक रनिङ्ग शिल्डको उपाधि जितेर ‘ह्याट्रिक’ गरेको छ ।

प्रतियोगीतामा बुद्धभूमि नगरपालिका दोस्रो भएको छ । बुद्धभूमिले ९ स्वर्ण, ३ रजत र ६ कास्य पदक जितेको छ ।

शिवराज नगरपालिकाले ५ स्वर्ण, २८ रजत र ३ कास्य पदक जितेर तेस्रो भएको छ ।

५ पालिकाको सहभागीता रहेको प्रतियोगीतामा शुद्धोधन गाउँपालिकाले ३ स्वर्ण, २ रजत र ४ कास्य पदक जित्दा कपिलवस्तु नगरपालिकाले ७ रजत र ९ कास्य पदक जितेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश उपाध्यायले बताए ।

प्रतियोगीतामा छात्र तर्फ कबड्डीको उपाधि घोषणा नगरिएको जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव मीन प्रसाद पोख्रेलले बताए। शनिबार अन्तिम खेलमा खेलाडी बीच विवाद हुँदा छात्र तर्फको विजयी घोषणा नगरिएको र यसबारे पछि निर्णय लिइने सदस्य सचिव पोख्रेलले बताए । यस खेलमामा बाणगंगा र कपिलवस्तु नगरपालिकाका खेलाडी बीच प्रतिस्पर्धा छ ।

प्रतियोगीतामा बोल्दै जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले विद्यार्थीको प्रतिभा प्रष्फुटनका लागि यस्ता प्रतियोगीता महत्वपूर्ण हुने बताए । प्रतियोगीतामा सबै पालिकाको सहभागीता हुन नसक्नु दुखद पक्ष भएको भन्दै आगामी दिनमा यसबारे खेलकुद समितिले चासो राख्नुपर्ने बताए ।

प्रतियोगीतामा यस बर्ष बुद्धभूमि नगरपालिका सह आयोजकका रुपमा थियो । प्रतियोेगीता समापनमा बुद्धभूमिका नगर प्रमुख केशवकुमार श्रेष्ठ, बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल लगायतको सहभागीता थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७९ शनिबार ००:००  ५ : २६ बजे