१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

चुनौतीपूर्ण बन्दै लुम्बिनीमा फोहोर व्यवस्थापन



रुपन्देही ।
धार्मिक पर्यटनको केन्द्र लुम्बिनीमा फोहर व्यवस्थापन हुन सकेको छैन । दैनिक रूपमा फोहर सङ्कलन र व्यवस्थापन नहुँदा लुम्बिनी परिसरमा भ्रमण गर्ने पर्यटकलाई समेत असहज भएको उनीहरू बताउँछन् ।

वीरगन्जबाट लुम्बिनीको भ्रमणमा आएका अजय कलवारले भने, ‘लुम्बिनीको मायादेवी मन्दिरमा मात्र सरसफाइ गरेर पुग्दैन, वरिपरिको सबै क्षेत्रमा सरसफाइ गर्नुपर्छ तर त्यस्तो देखिएन, वरपरका धेरै ठाउँमा थुप्रिएको फोहोरको डङ्गुरले पर्यटकलाई समेत असहज भएको छ ।’ लुम्बिनी विकास कोषले सरसफाइमा ध्यान पुर्याउन नसकेको उनको ठहर छ ।

काठमाडौँबाट लुम्बिनी घुम्न आएका अनुजा शाक्यले भनिन्, ‘लुम्बिनी निकै शान्त र सुन्दर छ तर सरसफाइमा अलि कमजोरी देखिन्छ, भरसक पर्यटकले नदेख्ने गरी फोहर व्यवस्थापन गर्न जरुरी छ ।’ लुम्बिनी परिसरमा स्टिमर सञ्चालन गरिएको नहरमा पानी दूषित प्रकारको रहेको भन्दै शाक्यले पानीको शुद्धताका लागि सरसफाइमा थप ध्यान दिइनुपर्ने बताइन् । नहरको पानी धुलो र झारपात तथा जमेको लेउले फोहोर बनेको भन्दै उनले गुनासो गरिन् ।

अघिल्लो महिना लुम्बिनी भ्रमणमा आएका नेपाल सरकारका पर्यटन मन्त्री सुदन किराँतीले लुम्बिनीमा फोहोर बढेको भन्दै आक्रोश व्यक्त गरेका थिए । पर्यटन मन्त्री किराँतीले गुनासो गरे पनि सरसफाइमा लुम्बिनी विकास कोषले खासै चासो दिएको छैन ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले कामदार अभावले गर्दा सरसफाइमा असहजता भएको टिप्पणी गर्दछन् । शाक्यले भने, ‘सरसफाइको लागि जम्मा १२ जना कर्मचारी राखिएको छ, ती कर्मचारीले सकेजति गरेकै छन्, धेरै कर्मचारी राखेर तलब दिन सकिने अवस्था छैन ।’ लुम्बिनीको पूर्ण सरसफाइको लागि कहिलेकाहीँ एक दुई दिनको लागि बाहिरीबाट कामदार मगाएर सफाइ गर्ने गरिएको शाक्यले बताए । नियमित सरसफाइ गर्ने कामदारको कमिले गर्दा सरसफाइमा चुनौती रहेको उनको भनाई छ । लुम्बिनी विकास कोषका सूचना अधिकारी हरिध्वज राईले भने पहिलेको तुलनामा अहिले लुम्बिनीको सरसफाइमा ध्यान दिइएको बताउँछन् ।

लुम्बिनी ११ सय ५७ बिगाहा क्षेत्रफलमा रहेको छ । तारवार गरिएको लुम्बिनीको मायादेवी मन्दिर र शान्ति दीप प्रज्वलन गरिएको क्षेत्र बाहेकका धेरैजसो ठाउँमा फोहोरको डङ्गुर देख्न सकिन्छ । स्टिमर चलाइएको नहरमा लेउ र रुखका झारपात झारपात सफाइ नगर्दा पानी दूषित बनेको छ ।

लुम्बिनीको पर्सा चौराहा चोकबाट दक्षिणतर्फका पाँच वटा प्रवेशद्वार वरिपरि सबैभन्दा बढी फोहोरका थुप्राहरू देख्न सकिन्छ । पर्सा चौराहा चोकदेखि दक्षिणतर्फका होटलले समेत प्रवेशद्वार वरिपरि फोहोर फाल्ने गरेका छन् । लुम्बिनीको तारवारभित्रै होटेलवालाले फोहोर फाल्ने गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९ आइतबार ००:००  ७ : ४७ बजे