६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

सिद्धार्थ उवासंघ भैरहवाको अध्यक्षमा श्रेष्ठ विजयी



बुटवल ।
सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवा, रूपन्देहीको अध्यक्षमा ठाकुरकुमार श्रेष्ठ विजयी भएका छन् । शनिवार भएको निर्वाचनको आइतबार सार्वजनिक परिणामअनुसार श्रेष्ठ १ हजार १०७ मतका साथ विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी विजय पाण्डेले ६८७ मत मात्र ल्याएको निर्वाचन अधिकृत शिव गौडेलले जानकारी दिए । निर्वाचित श्रेष्ठ नेपाली कांग्रेसनिकट हुन् भने पाण्डे एमाले निकट हुन् ।

२ हजार १९३ जना मतदातामध्ये १ हजार ८२८ जनाले मत खसालेका थिए । सचिवबाहेक अधिकांश पदमा श्रेष्ठ प्यानलका उम्मेदवार विजयी भएका छन् । संघको वरिष्ठ उपाध्यक्षमा नेत्रप्रसाद आचार्य १ हजार २५५ मत ल्याई विजयी भए । उनका प्रतिस्पर्धी अरुण कुमार गोयन्काले ५४७ मत प्राप्त गरेका छन् । यस्तै वाणिज्य उपाध्यक्षमा गोविन्द ज्ञवाली १ हजार १२३ मत ल्याएर विजयी हुँदा रविकुमार श्रेष्ठले ६४३ मत पाए ।

उद्योग उपाध्यक्षमा दिलिपकुमार कान्दु ८९४ मत ल्याई निर्वाचित हुँदा प्रतिस्पर्धी हरिबहादुर थापाले ८७३ मत प्राप्त गरे । महासचिवमा कृष्ण प्रसाद घिमिरे ९६१ मत ल्याई विजयी भए । अर्का प्रत्यासी गोपाल भण्डारीले ८०४ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा कमलप्रसाद मरासिनी ८७७ मत ल्याई विजयी हुँदा उनका प्रतिस्पर्धी गौरव श्रेष्ठले ५१८ र गंगासागर अग्रहरिले ३६२ मत ल्याए । सचिवमा पाण्डे प्यानलका मंगल भण्डारी ९९२ मत ल्याई विजयी भएका छन् । भण्डारीका प्रतिस्पर्धी धर्मवीर शर्माले ७७९ मत पाएका छन् ।

वस्तुगत सदस्यमा प्रीतम रौनियार, उद्योगतर्फ खुला सदस्यहरूमा ओम जैसी, रमेश घिमिरे, रचना क्षेत्री, कमल ज्ञवाली र विष्णुमाया शर्मा पौडेल निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९ आइतबार ००:००  ७ : ५३ बजे