७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

स्ववियु निर्वाचनः सिद्धार्थ क्याम्पसमा तीन संगठनद्धारा उम्मेदवारी दर्ता



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा तीन विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गरेका छन् । आसन्न चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा शनिबार तीन संगठनले सभापतिसहितका पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।

जिल्लाकै सबैभन्दा ठूलो सिद्धार्थ क्याम्पसमा १९ सदस्यिय स्ववियु पदाधिकारी निर्वाचित हुनेछन् । जसमा पदाधिकारी तर्फ सभापति, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन पद्धति मार्फत चुनिने छन् भने समानुपातिकबाट उप-सभापति र सह-सचिव चुनिने छन् ।

निर्वाचनका लागि एमाले निकट अनेरास्ववियुले सभापतिमा अन्जित खनाललाई उठाएको छ । जसलाई नेकपा (मसाल) निकट अखिल छैठौं र नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) को समर्थन रहेको छ ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले निलकमल थारुलाई सभापति उठाएको छ ।

अखिल क्रान्तिकारी (विप्लव)बाट विष्णु बहादुर राउत (विज्ञान) ले सभापतिमा उम्मेदवारी दिएका छन् । राउतलाई नेकपा माओवादीको अखिल (क्रान्तिकारी), नेकपा एसको अनेरास्ववियू र नेकपा (क्रान्तिकारी माओवादी) को अखिल क्रान्तिकारीले सघाएको छ ।

एमालेको अनेरास्ववियुबाट सचिवमा पशुपति गिरी, कोषाध्यक्षमा अप्सरा थारु उम्मेदवार बनेकी छिन् ।

कांग्रेस निकट नेविसंघबाट सचिवमा नारायण पौडेल, कोषाध्यक्षमा मनोज न्यौपानेको उम्मेदवारी परेको छ भने बामगठबन्धनबाट सचिवमा बर्षा बन्जाडे र कोषाध्यक्षमा अमृता चौधरीको उम्मेदवारी परेको क्याम्पसका निर्वाचन अधिकृत गोविन्द खनालले जानकारी दिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९ शनिबार ००:००  ६ : ३८ बजे