८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कपिलवस्तुमा विश्व कै सबैभन्दा अग्लो बुद्धको मुर्ति निर्माण हुने



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिका क्षेत्र भित्र विश्व कै सबैभन्दा अग्लो बुद्धको प्रतिमा निर्माणका लागि प्रकृया अघि बढाइएको छ । यहाँ २ सय ४५ फिट अग्लो बुद्धको मुर्ति र अन्तर्राष्ट्रिय बौद्ध पार्क निर्माणको प्रकृया अघि बढाइएको हो ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ६ र वडा नम्बर ९ को नदी उकास क्षेत्रमा पर्ने जमीनमा पार्कसहित बुद्धको मुर्ति बनाउने गरी प्रस्ताव अघि बढाइएको छ ।

नगरपालिकाले जग्गा व्यवस्थापन गर्ने र अन्तर्राष्ट्रिय बौद्धिष्ट सेन्टरले निर्माणको काम गर्ने गरी काम अघि बढाइएको हो ।

सो कामका लागि कपिलवस्तु नगरपालिका र अन्तर्राष्ट्रिय बौद्धिष्ट सेन्टर बीच नगरपालिकाको सभा हलमा विहीबार भब्य कार्यक्रमका बीच प्रारम्भिक सम्झौता (एमओइ) भएको छ।

सहमति पत्रमा कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेल र अन्तर्राष्ट्रिय बौद्धिष्ट सेन्टरका प्रमुख चेओङग क्वी सेङ स्टेवार्ड र सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतमले काम अघि बढाउने गरी लिखित सहमति गरे ।

सो अवसरमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री बिष्णु पन्थीले यो बुद्ध मुर्तिको निर्माण पछि प्राचिन कपिलवस्तुको परिचय समेत फेरिने विश्वास ब्यक्त गरे । लामो समयको पर्खाइ पछि एउटा सपनाले साकार रुप लिन लागेको भन्दै खुशी ब्यक्त गरे । प्रस्तावित बुद्धमुर्तिको निर्माणले देश मै कोशेढुंगा साबित हुने बताए।

फ्रान्सको ईफिल टावरले जस्तै यसले पनि देशकै इज्जत बढाउने उनले बताए । यो कार्यमा सबैले हातेमालो गर्नुपर्ने उनले बताए ।

सो अवसरमा सेन्टरका प्रमुख चेओङग क्वी सेङ स्टेवाडले सहमति पत्रमा हस्ताक्षर भएको दिनलाई महत्वपूर्ण दिन र काम भएको बताए । प्राचिन कपिलवस्तुमा बुद्धको मुर्ति निर्माणको काम गर्न पाउदा आफूलाई निकै खुशी लागेको उनले बताए ।

सो अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडलले नगरमा एउटा महत्वपूर्ण कामको सुरुवात हुन लागेको बताए । अब प्राचिन नगरी कपिलवस्तुको विकास र पहिचान फेरिने बताए ।

चाईनाका बुद्ध धर्म गुरु झोङ जीङ र मास्टर च्याङपिङले ऐतिहासिक र धार्मिकस्थल कपिलवस्तुमा बुद्धको मुर्ति निर्माणले यस क्षेत्रको धार्मिक र पर्यटकीय विकास हुने बताए । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले तीन वटा बुद्धको जन्मथलोका रुपमा रहेको कपिलवस्तुका विकासमा यो मुर्ति निर्माणले नयाँ आयाम थपिने बताए ।

सेन्टरका प्रमुख चेओङग क्वी सेङ स्टेवार्डलाई लुम्बिनी प्रदेश सरकारले सम्मानित समेत गरको थियो । उनलाई प्रदेश मन्त्री पन्थीले सम्मान पत्र हस्तान्तरण गरेका थिए । यस्तै चाईनाका बुद्ध धर्म गुरु झोङ जीङ र मास्टर च्याङपिङलाई समेत सम्मानित गरिएको थियो ।

कार्यक्रममा शिवराज नगरपालिकाका मेयर अजय थापाले अब कपिलस्तुको विकासले गति लिने बताए । मुर्ति निर्माणका लागि जग्गाको यकिन गरी सो जग्गाको स्वामित्वका बिषयमा पहल नगरपालिकाले गर्नेछ । मुर्ति र पार्क निर्माणका लागि प्रारम्भिक ३० अर्व भन्दा बढी बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।

समारोहमा जिल्लाका प्रदेश सांसद मधुसूदन शरण चौधरी, जिल्ला समन्वय समितिका प्रमुख बावुरा आचार्य लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय, सचिव सानुराजा शाक्य, सहायक प्रजिअ अनिल पौडेल चीन, हङकङ, मलेसिया लगायत देशका प्रतिनिधिहरु,, जिल्लाका राजनितिक दलका प्रमुखहरु, विभिन्न नगर तथा गाउँ पालिकाका प्रमुख/उपप्रमुख/वडा अध्यक्षहरु, जिल्ला प्रसाशन कार्यालय लगायत विभिन्न कार्यालयका प्रतिनिधिहरु, विभिन्न संघ सस्थाका प्रतिनिधि, पत्रकारहरुको सहभागीता थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७९ शुक्रबार ००:००  ६ : १४ बजे