१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाणगंगा बहुमुखी क्याम्पसको स्ववियु चुनाव अनिश्चित



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा बहुमुखी क्याम्पस लौगाईमा आसन्न चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव अनिश्चित बनेको छ ।

विद्यार्थी संगठन र स्ववियु निर्वाचन समिति बीच विवाद बढ्दै जादा यहाँको चुनाव अनिश्चित बनेको हो ।

उम्मेदवारको मनोनयनसम्म उत्साहजनक रुपमा अगाडी बढेको स्ववियु निर्वाचन प्रक्रिया त्यस पछिका दिनमा विवाद बढ्दै जादा चुनावै नहुने हो कि भन्ने आशंका बढेको छ ।

सुरुवातमा विद्यार्थी संगठन बीच नै असमझदारी बढ्दै जादा चुनावै नहुने स्थिति आएको हो ।

अनेरास्ववियुका उम्मेदवारले आफ्ना उम्मेदवारलाई दबाब, प्रभावमा पारी अराजनीतिक काम गरेको भन्दै बाम-लोकतान्त्रिक विद्यार्थी गठबन्धनले आपत्ति जनाउँदै स्ववियु चुनावको कक्षमा तालाबन्दी गरेको थियो ।

दोषि उपर कारबाहीको माग गर्दै तालाबन्दी गरे पनि मागको कुनै सुनुवाई नभए पछि आक्रोशित भएको गठबन्धन त्यस पछिका दिनमा झनै आक्रमक हुँदै गएको छ ।

स्ववियु चुनावमा विवाद बढ्दै जादा निर्वाचन समितिले विद्यार्थी संगठनका नेतालाई वार्ताका लागि बोलाए पनि ठोस सहमति जुट्न सकेको छैन ।

पछि क्याम्पसले स्ववियु चुनावको उम्मेदवारी दर्ता नियम विपरित गरेको भन्दै त्यसलाई खारेजीको माग गठबन्धनमा आवद्ध विद्यार्थी संगठनले गरेका छन् ।

३ सय ४० मतदाता रहेको यो क्याम्पसमा १५ सिटको स्ववियु पदाधिकारी हुन्छ । जसमा ८ जना प्रत्यक्षबाट निर्वाचित हुने छन् भने ७ जना समानुपातिकबाट चुनिने छन् । तर निर्वाचन समितिले १० जना उम्मेदवारलाई प्रत्यक्ष उम्मेदवार बनाए पछि त्यो बैधानिक नभएको भन्दै गठबन्धनका विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । त्यसलाई खारेज गरी नयाँ प्रक्रियाबाट निर्वाचनको थालनी गर्नुपर्नेमा गठबन्धन सम्बद्ध विद्यार्थी संगठनको माग छ ।

यता स्ववियु निर्वाचन समितिले पटक पटक विद्यार्थी संगठनलाई वार्ताका लागि बोलाएको तर निकास निस्कन नसकेको बताएको छ । तोकिएको समयमा चुनाव गर्नुपर्नेमा क्याम्पस तयार रहेको भन्दै विवादित विषयलाई वार्ता मार्फत समाधान गर्न निर्वाचन समितिको आग्रह छ ।

जिल्लाका अरु ७ क्याम्पसमा भने स्ववियु निर्वाचनको प्रक्रिया अगाडी बढेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९ शुक्रबार ००:००  ६ : ४३ बजे