१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बैजलपुर वनमा वन पदाधिकारी र ठेकेदारको मिलेमतोमा टेण्डर हत्याउने प्रयास



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बैजलपुर जनकल्याण सामुदायिक वनमा सेटिङ मार्फत टेण्डर हात पार्ने प्रपञ्चमा ठेकेदार लागि परेका छन् ।

बाणगंगा नगरपालिका वडा नं. २ मा अवस्थित बैजलपुर वनमा वनका सह-सचिव बाबुराम अधिकारी र कोषाध्यक्ष रेम बहादुर रेश्मीको सेटिङ मार्फत ठेकेदारले टेण्डर हत्याउने प्रयास गरेका हुन् ।

वनका पदाधिकारीले रु. ७ लाखमा आफू अनुकुलको ठेकेदारलाई काठ लिलामीको टेण्डर पार्ने प्रचञ्च रचेका हुन् ।

हालै सालझण्डीको एक होटलमा बसेर वनका पदाधिकारी र ठेकेदारले मिलेमतो गरी, परेको टेण्डर बदर गरी, आफू अनूकुलको ठेक्का पारी टेण्डर खुलाएको विश्वस्त स्रोतले मायादेवी अनलाइनलाई जानकारी दिएको छ ।

वनले फाल्गुण ११ गते घाटगद्धीमा राखिएका काठ दाउराको लिलाम विक्रीका लागि टेण्डर खुलाएको थियो ।

शिलबन्दीमा जस्ले तोकिएको मूल्यभन्दा बढी रकम हाल्छ त्यसैले स्वभाविक रुपमा टेण्डर हात पार्ने गर्छ । तर बैजलपुरमा सबै ठेकेदारले मिलेर टेण्डर हालेको पाइएको छ ।

ठेकेदारले मिलेमतो गरी टेण्डर हालेको थाहा पाए वनको आम्दानी बढाउनका लागि कतिपय वन पुनः टेण्डर प्रक्रियामा जाने गरेका उदाहरण प्रशस्त छन् । तर बैजलपुरमा स्वंम वनका पदाधिकारी नै ठेकेदारसंग मिलेको पाइएको छ ।

बैजलपुरमा अरु वन भन्दा राम्रा काठ उत्पादन हुने गर्छ । जसले गर्दा ठेकेदारको आँखा यस वनमा पर्ने गरेको छ । वनको काठ हत्याउने प्रयासमा रहेका ठेकेदार यस क्षेत्रका प्रख्यात काठका ठेकेदार हुन् ।

मिलेमतोमा ठेकेदारले न्यूनतम मूल्यमा टेण्डर हालेको र उक्त टेण्डरबारे ठेकेदार पक्ष बीच नै भागभण्डा नमिले पछि यो तथ्य बाहिर आएको हो ।

ठेकेदार पक्ष बीच एकआपसमा विवाद बढ्दा सबै सूचना बाहिर आएपछि बैजलपुर वनमा अहिले खैलाबैला मच्चिएको छ । वनका अध्यक्ष सत्यनारायण थारुसंग यस विषयमा बुझ्न खोजेपनि सम्पर्कमा आउन चाहेनन् ।

वनका कोषाध्यक्ष रेश्मीले भने उक्त सूचना गलत भएको दाबी गरे । उनी स्वंय ठेकेदारसंगको मोलमोलाईमा संलग्न रहेपनि आफूलाई यो विषयमा कुनै जानकारी नभएको भन्दै तर्कने प्रयास गरे ।

यता ठेकेदारले सबै कुरा बाहिर आएपछि जसरी हुन्छ टेण्डर सदर गराउने कसरतमा लागि परेका छन् । टेण्डर सदर गराउनका लागि ठेकेदारले सम्बन्धित पक्षलाई प्रलोभनमा पार्ने कोसिस गरिरहेका छन् ।

वडा नं. २ का वडाध्यक्ष विष्णु पौडेलले वनले टेण्डर खुलाएको तर अरु विषय आफूलाई जानकारी नभएको बताए । टेण्डरको सदर गर्ने मध्येका एक रहेका वडाध्यक्ष पौडेलले नियम अनुसार टेण्डर नपरेको भए स्वभाविक रुपमा सदर नहुने बताए ।

वडाध्यक्ष पौडेलले टेण्डर हाल्दा मिलेमतो हो कि भन्ने लागेको भन्दै प्रक्रिया नपुगेको टेण्डर बदर हुने बताए ।

बैजलपुरमा मिलेमतोमा टेण्डर पार्ने घटना पहिलो होइन् । यसभन्दा अगाडी पनि वनका पदाधिकारीले मिलेमतोमा टेण्डर पारेको घटना बाहिरिएको थियो । यस्तै वनमा काठ हराएको घटनाले पनि बैजलपुरलाई चर्चामा ल्याएको थियो । वनको माथिल्लो तल्ला थप्दा ठूलो भ्रष्ट्राचार भएको भन्दै उपभोक्ताले प्रश्न उठाएपछि विवादमा साम्य पारिएको थियो ।

वनमा पटक पटक बेथितिका घटना घट्दै आएका छन् । तर सम्बन्धित निकाय मौन जस्तै बन्ने गरेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९ शनिबार ००:००  ४ : ४२ बजे