१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

कपिलवस्तुका ७ सामुदायिक क्याम्पसमा स्ववियु चुनाव हुँदै, बाणगंगा बहुमुखीमा अनिश्चित



मायादेवी अनलाइन, बाणगंगा ।
आइतबार कपिलवस्तुका ७ वटा सामुदायिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुँदै छ ।

जिल्लाका ८ सामुदायिक क्याम्पस मध्ये ७ वटामा स्ववियु निर्वाचन हुन थालेको हो । भोलि त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभरका आंगिक र सामुदायिक क्याम्पसहरुमा चुनाव हुँदैछ ।

एउटा पनि आंगिक क्याम्पस नभएको कपिलवस्तुमा सबै क्याम्पस त्रिविबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस हुन् ।

जिल्ला सदरमुकाम तौलिहवामा अवस्थित कपिलवस्तु बहुमुखी क्याम्पस, सिद्धार्थ क्याम्पस बुङ्ची र नेपाल आर्दश बहुमुखी क्याम्पस शिवपुर जिल्लाका पुराना क्याम्पस हुन् ।

बुद्धभूमि बहुमुखी क्याम्पस चौवन्नपुर, फलारीबाबा बहुमुखी क्याम्पस महाराजगन्ज, गौतमबुद्ध बहुमुखी क्याम्पस गोरुसिंगेमा पहिलो पटक आइतबार चुनाव हुँदै छ ।

समयथान बहुमुखी क्याम्पसमा वि.सं. २०७३ साल पहिलो पटक स्ववियुको चुनाव भएको थियो । यो पटक पनि यहाँ चुनाव हुँदै छ ।

०७३ सालमा पहिलो पटक चुनाव भएको बाणगंगा बहुमुखी क्याम्पस लौगाईमा भने यस पटक आइतबार चुनाव नहुने निश्चित छ । विद्यार्थी संगठन र क्याम्पस प्रशासन बीच विवाद बढ्दै जादा स्ववियु चुनाव नहुने भएको हो ।

विद्यार्थी संख्याको हिसाबले सिद्धार्थ क्याम्पसमा जिल्लाको ठूलो क्याम्पस हो । बाणगंगाको बुङ्चीमा अवस्थित सिद्धार्थ क्याम्पसमा स्नातकोत्तर तहसम्मको अध्ययन हुँदै आएको छ ।

आइतबार हुने स्ववियु चुनावमा १ हजार १ सय ७३ विद्यार्थीले चुनावमा भाग लिने निर्वाचन समितिका संयोजक गोविन्द खनालले जानकारी दिए । निर्वाचनको सबै तयारी पूरा भएको उनले जनाए ।

सिद्धार्थ क्याम्पसमा विं.स. २०५२ साल देखि स्ववियुको चुनाव हुँदै आएको छ । क्याम्पसमा पहिलो स्ववियु सभापतिका रुपमा रमेश पन्थी सर्वसम्मत चयन भएका थिए । त्यस यता त्रिविले गरेका हरेक चुनाव सिद्धार्थमा हुँदै आएको छ ।

जिल्ला सदरमुकाममा रहेको जिल्लाको सबैभन्दा पुरानो कपिलवस्तु बहुमुखी क्याम्पस हो । यस क्याम्पसमा पनि आइतबार चुनाव हुँदै छ । क्याम्पस प्रमुख डा. विनय पाण्डेयले आइतबार स्ववियु चुनावमा ९ सय ८६ विद्यार्थीले मतदान गर्न पाउने बताए । यहाँ वि.सं. २०४० देखि स्ववियु चुनाव हुन थालेको हो ।

०६५ यता स्ववियु चुनाव नभएको कपिलवस्तु बहुमुखीमा यो पटक चुनाव हुने निश्चित छ । विद्यार्थी संगठनले उत्साहजनक रुपमा निर्वाचन प्रक्रियामा भाग लिने तयारी गरेको क्याम्पस प्रशासनले जनाएको छ ।

जिल्लाको पश्चिम क्षेत्रमा रहेको नेपाल आर्दश बहुमुखी क्याम्पसमा पनि चुनावी तयारी पूरा भएको छ । क्याम्पस प्रमुख हेमराज शर्माले चुनावी प्रक्रिया पूरा भएको जनाए । ६ सय विद्यार्थीले आइतबार चुनावी प्रक्रियामा भाग लिन पाउने जनाइएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९ शनिबार ००:००  ४ : १७ बजे